नेपालमा पछिल्ला वर्षहरूमा एउटा यस्तो स्वास्थ्य संकट चुपचाप फैलिरहेको छ, जसले युद्ध, महामारी वा दुर्घटनाभन्दा धेरै ज्यान लिइरहेको छ । त्यो हो नसर्ने रोग । जस्तो; मुटुरोग, मधुमेह, क्यान्सर, दम, मिर्गौला तथा जीवनशैलीसँग जोडिएका रोगहरू । अहिले नसर्ने रोग नेपालीका लागि सबैभन्दा ठूलो स्वास्थ्य चुनौती बन्दै गएको छ ।
अस्पतालमा उपचार गराउन आउनेमध्ये अधिकांश बिरामी नसर्ने रोगबाट पीडित छन् । यो हामीले भनेको होइन, प्रत्येक पाँच वर्षमा हुने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यो तथ्य उजागर गरेको छ । अस्पतालका स्वास्थ्यकर्मी नसर्ने रोग बढ्दै गएकोमा चिन्तित छन् । पछिल्ला तथ्यांकले अवस्था झन् चिन्ताजनक देखाएका छन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार उच्च रक्तचाप, मोटोपना र जीवनशैलीजन्य रोगको दर तीव्र रूपमा बढिरहेको छ । विशेष गरी महिलामा मोटोपना र बढी तौलको समस्या उल्लेख्य रूपमा बढेको छ । सन् २०१६ मा २२.२ प्रतिशत रहेको यस्तो समस्या सन् २०२२ मा बढेर २९ प्रतिशत पुगेको छ । विशेषज्ञहरूका अनुसार यसको पछाडि बदलिँदो खानपान, बढ्दो जंक फुडको उपभोग, घट्दो शारीरिक श्रम र सहरी जीवनशैली प्रमुख कारण बनेका छन् ।
उच्च रक्तचापको अवस्था पनि कम डर लाग्दो छैन । सन् २०१६ मा पाँच प्रतिशत महिलामा देखिएको उच्च रक्तचाप सन् २०२२ सम्म आइपुग्दा ९.६ प्रतिशत पुगेको छ । चिकित्सकहरूका अनुसार यो केवल रक्तचापको समस्या मात्र होइन, यसले मुटुरोग, पक्षाघात, मिर्गौला रोग र दीर्घकालीन स्वास्थ्य जटिलताको ढोका खोल्ने काम गर्छ ।
धूम्रपान, मदिरा सेवन, शारीरिक गतिविधिको कमी र अस्वस्थकर खानपान अहिलेका प्रमुख जोखिम कारक हुन् । अझ चिन्ताको विषय युवापुस्तामा देखिएको नयाँ बानी हो, फास्टफुड, लामो समयसम्म बसिरहने जीवनशैली र व्यायामप्रतिको बेवास्ता । परम्परागत खानपान र श्रममा आधारित जीवनशैली घट्दै गएको छ । त्यसको ठाउँमा प्रशोधित खाना, चिल्लो पदार्थ र चिनीजन्य खानेकुराले लिइरहेको छ । स्वास्थ्य सर्वेक्षणले अर्को गम्भीर संकेत पनि दिएको छ भने मानसिक स्वास्थ्य समस्या समेत बढ्दो क्रममा छ ।
दुर्घटना, अपांगता, धूम्रपान र रक्तचापसँग सम्बन्धित सूचकले नेपाली समाजको स्वास्थ्य जोखिम बहुआयामिक बन्दै गएको देखाएको छ । प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश सबैभन्दा बढी जोखिममा देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहरी जीवनशैली, तनाव, कम शारीरिक गतिविधि र खानपानमा आएको परिवर्तनले यी क्षेत्रमा समस्या अझ बढाएको जनाएको छ ।
सबैभन्दा भयावह तथ्य भने मृत्यु दरमा देखिएको परिवर्तन हो । सन् २०१० मा नेपालमा कुल मृत्युमध्ये ५१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेकोमा अहिले यो बढेर ७१ प्रतिशत पुगेको छ । अर्थात् अहिले नेपालमा हुने १० मध्ये सातभन्दा बढी मृत्यु यिनै रोगसँग सम्बन्धित छन् । सन् २०१९ को स्वास्थ्य तथ्यांकअनुसार नेपालमा हरेक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिस विभिन्न रोगका कारण ज्यान गुमाइरहेका छन् । विज्ञहरूका अनुसार अहिले नै जीवनशैली परिवर्तन, नियमित स्वास्थ्य परीक्षण र रोकथाममा ध्यान नदिए यो संकट अझ गहिरिने जोखिम छ ।
नसर्ने रोग अब भविष्यको खतरा होइन, नेपालका लागि वर्तमानको सबैभन्दा ठूलो स्वास्थ्य चुनौती बनिसकेको छ । यो समस्या अस्पतालका बेड, स्वास्थ्य तथ्यांक वा चिकित्सकको चिन्तामा मात्र सीमित छैन, यो हाम्रो दैनिक जीवनशैली, खानपान, काम गर्ने तरिका र स्वास्थ्यप्रतिको चेतनासँग प्रत्यक्ष जोडिएको विषय हो ।
यदि अहिले नै रोकथाम, जनचेतना र व्यवहार परिवर्तनमा ध्यान दिइएन भने आगामी वर्षहरूमा बढ्दो मोटोपना, उच्च रक्तचाप, मानसिक स्वास्थ्य समस्या र जीवनशैलीजन्य रोगहरूले सबैलाई थला पार्ने स्पष्ट छ । नसर्ने रोगसँगको लडाइँ अस्पतालमा उपचारबाट मात्रै जितिँदैन । यसको सुरुआत घरबाट, भान्साबाट, दैनिक बानीबाट र व्यक्तिगत जिम्मेवारीबाट हुन्छ । सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि, धूम्रपान तथा मदिराबाट दूरी, समयमै स्वास्थ्य परीक्षण र मानसिक स्वास्थ्यप्रतिको सचेतनाले मात्रै यो बढ्दो संकटलाई नियन्त्रण गर्न सकिन्छ ।
आजको बेवास्ता भोलिको गम्भीर रोग बन्न सक्छ । त्यसैले नसर्ने रोगलाई ‘पछि सोचौँला’ भन्ने विषय होइन, अहिले नै ध्यान दिनुपर्ने राष्ट्रिय प्राथमिकताका रूपमा लिनु आवश्यक छ ।