काठमाडौं । मनाङको नारफू क्षेत्रमा पर्ने हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरो गएको हो। हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना जिल्ला प्रशासन कार्यालयमा आएको उनले जानकारी दिए।
‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ पौडेलले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ। तर एकिन भइसकेको छैन।’
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। उद्धार टोलीलाई हिमपहिरो गएको भनिएको स्थानमा पुर्याउन हेलिकप्टर गएको र एकपटक उद्धारकर्तालाई घटनास्थल नजिकै छाडेर फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
उनका अनुसार अर्को हेलिकप्टर पनि उद्धारका लागि त्यसतर्फ जाँदैछ। मौसम तथा हिमपहिरोका कारण उद्धारमा चुनौती हुन सक्ने भएकाले घटनास्थलको अवस्था हेरेर थप खोजी तथा उद्धारको काम अघि बढाइने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता भनिएका व्यक्तिहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमलुङ हिमाल आरोहण तथा पदयात्राका लागि गएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
हिमपहिरोमा परेकाहरूको वास्तविक संख्या, उनीहरूको पहिचान तथा अवस्थाबारे भने उद्धार टोली घटनास्थलमा पुगेपछि थप विवरण आउने प्रशासनले जनाएको छ।
घटनापछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीले समन्वय गरी खोजी तथा उद्धारको काम अघि बढाइरहेका छन्। उद्धारका लागि थप हेलिकप्टर तथा जनशक्ति परिचालन गर्ने तयारीसमेत भइरहेको छ।