काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारका लागि शुल्क निर्धारण गरेको छ।
डा. शशांक कोइरालाको नेतृत्वमा गठित १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका–२०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क तोकिएको हो।
निर्देशिकाअनुसार केन्द्रीय सभापति पदका लागि ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। त्यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० रुपैयाँ तथा केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।
प्रदेश कार्यसमितिको सभापति पदका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रदेशका उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीका लागि ६ हजार र प्रदेश सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।
जिल्ला कार्यसमितिको सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति तथा सचिवका लागि ३ हजार ५०० रुपैयाँ, सहसचिवका लागि ३ हजार र सदस्यका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ३ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि २ हजार ५००, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
वडा तहमा सभापतिका लागि २५० रुपैयाँ, उपसभापति, सचिव तथा सहसचिवका लागि १५० रुपैयाँ र वडा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ।
आयोजक पक्षले आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत गर्ने उद्देश्यले विभिन्न तहका उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको जनाएको छ। देउवा समूहले १५औँ महाधिवेशनको तयारी समानान्तर रूपमा अघि बढाइरहेको छ।
नेपाली कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।