म्याग्दी । लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी आइतबार तीन जनाको मृत्यु भएको छ। पहिरोमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव निकालिएको उनले जानकारी दिए।
त्यस्तै, बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोले घर पुरिँदा अन्दाजी ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरोमा पुरिएकी विकको शव निकालिएको छ।
यसैबीच, अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ। पहिरोका कारण जोखिममा परेका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमा पुगेको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो।
उद्धार गरिएका दुवै जनालाई उपचार तथा सुरक्षित स्थानका लागि बेनी ल्याउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयका शिक्षक बाबुराम पौडेलका अनुसार फगाममा स्थानीय गङ्गाबहादुर पाइजाको घरसमेत पहिरोले पुरिएको छ।
त्यस्तै, मालिका गाउँपालिका–३ औंलामा पनि पहिरोमा पुरिएका नागरिकहरूको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए।
लगातारको वर्षाका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि अन्नपूर्ण गाउँपालिकाका पहिरो प्रभावित बस्तीमा राहत तथा उद्धार सामग्री पुर्याउन कठिनाइ भएको छ। प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्रीसहित सुरक्षाकर्मीको टोली पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।
म्याग्दीमा बिहीबारदेखि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण जिल्लाभरको सडक सञ्जाल तथा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ। टेलिफोन र इन्टरनेटजस्ता सञ्चार सेवा पनि प्रभावित भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विपद् व्यवस्थापनको काम थप चुनौतीपूर्ण बनेको छ।
प्रशासनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा पहिरो तथा बाढीको जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ।