विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन् ।
ती बिरामीहरूलाई सेवा गर्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरू छन् । उनीहरू नझर्की, अत्ताइकन धैर्यपूर्वक शान्त नम्रबोलीले बिरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन् ।
उनीहरू दैनिक साँझ-बिहान मात्र नभएर आकस्मिक रूपमा अबेर राति पनि बिरामीको नियमित जाँच गर्ने, समयमा औषधि खुवाउने, रगत तान्ने, हिस्ट्री लिने, रेकर्ड राख्नेदेखि, इसिजी गर्ने र शौच गरे-नगरेको जाँचहरू पठाउने र रिर्पोट अभिलेखीकरण गरेर राख्ने कामसम्म भ्याउँछन् ।
त्यसबाहेक डाक्टरहरूलाई बिरामीको अवस्था ब्रिफिङ गर्नेदेखि बिरामी र उनीहरूका कुरुवालाई काउन्सिलिङ गर्ने काम पनि उनीहरू जिम्मेवारीपूर्व गर्छन् ।
यतिमात्र नभएर कति सिकिस्त बिरामीहरूलाई दिसा-पिसाब गराउन शौचालय लानेदेखि लुगा फेरिदिने मात्र नभएर औषधि नखाने बिरामीहरू कसैलाई फकाएर त कसैलाई चूर्ण बनाएर औषधि खुवाउने काम पनि गर्ने गर्छन् ।
बिरामीको प्रभावकारी सेवा गरेकै कारण विराट अस्पतालको मानसिक विभागमा आजकल महिला नर्सहरू छैनन्, त्यहाँ सबै काम स्वास्थ्य सहायक पढेका तालिमप्राप्त पुरुष नर्सहरूले नै सेवा दिइरहेका छन् ।
उसैपनि नर्स भएर बिरामीको सेवा गर्नु सजिलो काम होइन । यसका लागि शिक्षाको डिग्री र मात्र भएर पुग्दैन ।
नर्स हुनका लागि मृदुभाषी, लगनशील र जिम्मेवार हुनुपर्छ । मानसिक बिरामीहरूको सेवा गर्ने काम विशेष गरी कष्टकर र जोखिमपूर्ण हुन्छ ।
उपचारका लागि भर्ना भएका बिरामीहरू कोही मानसिक रूपले विक्षिप्त हुन्छन् भने कोही चिच्याउने, कराउने, होहल्ला गर्ने र कुटपिट गर्ने खालका पनि हुन्छन् । प्रायः आफूलाई बिरामी मान्दैनन् र औषधि तथा खाना खान चाहँदैनन्, बरु झगडा गर्छन् । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन् ।
विराट अस्पतालको मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव भन्छन्, ‘बिरामी जाँचेर औषधि लेख्ने दक्षता हासिल गरे पनि, हामी थप अनुभव हासिल गरेर दक्ष स्वास्थ्यकर्मी बन्नका लागि जोखिम मोलेर भए पनि नर्स भएर बिरामीको उपचार गर्न लागिपरेका छौं ।’
निरजजस्तै तीन वर्षे स्वास्थ्य सहायक (एचए) कोर्स गरेर तालिम लिएका विजय राजवंशी, मनोज मेहता, प्रशान्त ठाकुर, नितेशकुमार मेहता र सिकन्दर यादवहरू पुरुष नर्स बनेर मानसिक रोगीहरूको निरन्तर सेवा गरिरहेका छन्।
मानसिक विभागमा दुई वर्षदेखि नर्स भएर बिरामीको सेवा गर्दै आएका मनोज मेहता र उनका साथीहरू बताउँछन् ।
“हामी पुरुषमात्र नभएर अशक्त महिला, बालबालिका र जेष्ठ नागरिक सबै अशक्त बिरामीहरूलाई कुनै भेदभाव नगरी कडा र जटिल खाले सबै बिरामीहरूको झर्को नमानी सेवा-सुश्रुषा गर्छौं,’ उनीहरू थप्छन्, ‘सन्तुष्ट हुने गरी सेवा गरेकै कारण आजसम्म कुनै पनि बिरामी र कुरुवाहरूले असन्तुष्टि जनाएका छैनन्, बरु सबैले प्रशंसा नै गरेका छन् ।’
कार्यरत नर्स प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका केही बिरामीहरू होशवाश नभएका हुन्छन् भने केही चाहिँ कुटपिट गर्ने र आफूमाथि हिंसात्मक व्यवहार गर्नेहरू पनि हुन्छन् ।
कतिपयले मौका खोजेर आफूलाई घात गर्नेदेखि आत्महत्या गर्नेसम्मको प्रयास पनि गर्दछन् । यसैले सेवामा खटिएका नर्सहरूले चौबीसै घण्टा सतर्क रहनुपर्दछ ।
नर्स सिकेन्द्र यादव बताउँछन्, ‘आफूहरूको सजगता र धैर्यताकै कारण आजसम्म कुनै अप्रिय घटना हुन पाएको छैन । बरु उपचारमा आएका बिरामीहरू निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।’
मानसिक विभागका रेसिडेन्सियल इन्चार्ज चिकित्सक डाक्टर शिर्षकदीप श्रेष्ठ बताउँछन्, ‘मानसिक विभागमा भर्ना भएका बिरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरूले पनि महिला नर्सहरूले जत्तिकै प्रभावकारी सेवा दिइरहेकाले उपचार सेवा प्रभावकारी बनाउन भरपर्दो सहयोग पुगिरहेको छ ।’