नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो।
प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस बिहान करिब ६ः४० बजे दुर्घटनामा परेको थियो। दुर्घटनाका बेला बसमा ४१ जना सवार रहेको खुलेको छ।
दुर्घटनामा घाइते भएका सबै ३३ जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र बाँकी ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएको छ।
दुर्घटनामा कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी, अछाम र धनुषालगायत जिल्लाका यात्रु घाइते भएका छन्। घाइते हुनेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेका छन्।
दुर्घटनापछि प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारू रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।