डेटिङ एपमार्फत चिनजान भएर प्रेम सम्बन्धमा रहेकी क्यानडाकी एक महिला विवाह गर्ने उद्देश्यले भारत पुगेकी छन्। तर, प्रत्यक्ष भेटपछि युवकले उमेरका कारण विवाह गर्न अस्वीकार गरेपछि उनीहरूबीच विवाद भएको छ। घटनापछि महिलाले क्यानेडियन दूतावासमा सम्पर्क गरेकी थिइन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना राजस्थानको बेहरोर जिल्लास्थित नीमरानाको हो। ६१ वर्षीया महिला करिब एक वर्षदेखि हरियाणाको पानीपत निवासी नितिन नामका युवकसँग डेटिङ एपमार्फत सम्पर्कमा थिइन्। कुराकानी बढ्दै जाँदा उनीहरूबीच प्रेम सम्बन्ध स्थापित भएको र विवाह गर्ने सहमति बनेको बताइएको छ।
त्यसपछि महिला पर्यटक भिसामा क्यानडाबाट दिल्ली आइपुगेकी थिइन्। उनलाई लिन युवक विमानस्थल पुगेका थिए। त्यहाँबाट उनले महिलालाई नीमरानास्थित बीबी बिल्डर्स सोसाइटीमा रहेको आफ्ना काकाको फ्ल्याटमा लगेका थिए। महिला त्यहाँ दुई दिनसम्म युवकसँगै बसेको प्रहरीको भनाइ छ।
विवाहको विषयमा छलफल हुँदा महिलाको उमेर करिब ६१ वर्ष रहेको थाहा पाएपछि युवकले विवाह गर्न अस्वीकार गरेको बताइएको छ। यही विषयलाई लिएर दुवैबीच विवाद चर्किएको थियो। त्यसपछि गत नोभेम्बर १३ मा महिलाले क्यानेडियन दूतावासमा सम्पर्क गरी घटनाबारे जानकारी गराएकी थिइन्।
दूतावासका अधिकारीबाट सूचना पाएपछि नीमराना प्रहरी बिहान करिब ४ बजे घटनास्थल पुगेको थियो। प्रहरीले युवक र महिलालाई प्रहरी चौकीमा लगेर सोधपुछ गरेको थियो। हाल महिलालाई कोटपुतलीस्थित हेरचाह केन्द्रमा राखिएको छ भने युवकसँग प्रहरीले थप सोधपुछ गरिरहेको छ।
नीमराना प्रहरी चौकीका अधिकारी सुरेन्द्र यादवका अनुसार युवक नितिन हरियाणाको पानीपत निवासी सत्यनारायणका छोरा हुन्। उनी एक निजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।