राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको प्रस्तावित चीन भ्रमणमा नेपालको सरकारी रकम खर्च नहुने बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको भ्रमणको सम्पूर्ण खर्च र व्यवस्थापन चिनियाँ पक्षले नै बेहोर्ने उनको भनाइ छ।
आइतबारदेखि सुरु हुने १० दिने भ्रमणका लागि चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले भ्रमण औपचारिक प्रकृतिको रहेको जानकारी दिए। नेपालबाट प्रस्थान गरेदेखि स्वदेश फर्किएसम्मको सम्पूर्ण व्यवस्थापन चीनले गर्ने उनले स्पष्ट पारे।
पार्टीका सांसदहरूले विदेश भ्रमणको विषयमा उठाएका प्रश्नलाई विरोधका रूपमा लिन नहुने पनि आचार्यले बताए। उनका अनुसार भ्रमणको उद्देश्य, त्यसबाट प्राप्त हुने उपलब्धि, सरकारी बजेटको प्रयोग र सहभागी हुने व्यक्तिको उपयुक्तताबारे प्रश्न उठाउनु स्वाभाविक हो।
विदेश भ्रमणका नाममा राज्यकोषको दुरुपयोग हुन नहुने र प्रत्येक भ्रमणको औचित्य पुष्टि हुनुपर्ने विषयमा पार्टीभित्रैबाट आवाज उठ्नु सकारात्मक भएको उनले उल्लेख गरे। यस्ता प्रश्नले भ्रमणलाई थप जवाफदेही र परिणाममुखी बनाउन सहयोग पुग्ने उनको धारणा छ।
आचार्यले कुनै पनि देशको प्रतिनिधित्व गर्दै विदेश जाने व्यक्तिले भ्रमणको उद्देश्य र त्यसबाट हासिल हुने उपलब्धिबारे स्पष्ट पार्नुपर्ने बताए। सांसदहरूले उठाएका प्रश्नलाई भ्रमणप्रतिको असहमति नभई खर्च र सहभागिताबारे जवाफदेहिता खोजिएको रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।
चीन भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्ध विस्तार, विपद्पछिको व्यवस्थापन तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।
यसअघि पनि रास्वपाका सांसदहरूले विभिन्न सरकारी तथा राजनीतिक विदेश भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाउँदै आएका थिए।