दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा अर्बौँ रुपैयाँ खर्चेर आधुनिक रंगशाला निर्माण गरेको छ। तर, रंगशालाभित्रै आवश्यक पूर्वाधार रहेका केही खेलका प्रतिस्पर्धा भने अर्को प्रदेशमा आयोजना गर्ने निर्णय भएपछि त्यसको औचित्यमाथि प्रश्न उठ्न थालेको छ।
एक अर्ब ५९ करोड ४७ हजार ६०० रुपैयाँ लागतमा बनेको रंगशालामा फुटबल, भलिबलदेखि पौडीसम्मका खेल सञ्चालन गर्न सकिने संरचना तयार गरिएको छ। मंसिर ८ गतेदेखि खेल सुरु हुने प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुनेछ।
रंगशालाभित्र अन्तर्राष्ट्रिय मापदण्डअनुसार २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको स्विमिङ पुल निर्माण गरिएको छ। तर, राष्ट्रिय खेलकुदअन्तर्गतको पौडी प्रतियोगिता कर्णालीमा नभई लुम्बिनी प्रदेशको बाँकेको नेपालगन्जमा सञ्चालन गर्ने तय भएको छ।
नेपाल पौडी संघ कर्णाली प्रदेशका अध्यक्ष जनकबहादुर थापाले आफ्नै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी हुँदाहुँदै अर्को प्रदेशमा प्रतियोगिता लैजानु उचित नभएको बताएका छन्। आवश्यक संरचना नभएको अवस्थामा अन्यत्र प्रतियोगिता आयोजना गर्नु स्वाभाविक भए पनि पूर्वाधार हुँदाहुँदै त्यसको प्रयोग नगर्नु गलत सन्देश जाने उनको भनाइ छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले भने नेपालगन्जको स्विमिङ पुल ५० मिटर लामो भएकाले पौडी प्रतियोगिता त्यहाँ राखिएको स्पष्ट पारेका छन्। वीरेन्द्रनगरको पुल २५ मिटरको मात्रै भएकाले प्रतियोगिताका लागि नेपालगन्ज उपयुक्त भएको उनको तर्क छ।
पौडीसँगै खो–खो प्रतियोगिता पनि कर्णालीबाहिर बर्दियामा आयोजना गर्ने निर्णय भएको छ। वीरेन्द्रनगर रंगशालाभित्रै इन्डोर र आउटडोर दुवै प्रकारका खो–खो प्रतियोगिता सञ्चालन गर्न सकिने भए पनि अर्को प्रदेशमा लैजानु आवश्यक नरहेको प्रदेश खेलकुद विकास समितिका पूर्व सदस्यसचिव विश्वामित्र सन्ज्यालको भनाइ छ।
उनले राष्ट्रिय खेलकुदकै लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पौडी पोखरी निर्माण गरिएको अवस्थामा त्यसको उपयोग नहुनु लगानीको औचित्यमाथि प्रश्न उठ्ने विषय भएको बताएका छन्।
कर्णालीमा आयोजना गर्न सकिने पूर्वाधार भएका पौडी, सुटिङ, खो–खो र टेनिसलगायतका खेल बाँके तथा बर्दियामा सञ्चालन गर्ने निर्णयप्रति अर्को प्रश्न पनि उठेको छ। मन्त्रालयका सचिव चूडामणि पौडेलको गृहजिल्ला बर्दिया भएकाले कर्मचारीहरूले उनलाई खुसी पार्न केही खेल अर्को प्रदेशमा सारेको स्रोतको दाबी छ। यद्यपि यस विषयमा आधिकारिक पुष्टि भने सार्वजनिक भएको छैन।
प्रतियोगितामा कुल ३२ खेल समावेश गरिएका छन्। पौडी र सुटिङ बाँकेको नेपालगन्जमा तथा टेनिस र खो–खो बर्दियामा सञ्चालन हुनेछन्। मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल सुरु हुने परिषद्ले जनाएको छ।
सुर्खेतमा एथ्लेटिक्स, फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी, साइक्लिङ, कराँते, तेक्वान्दो, उसु, बक्सिङ, ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, ई-स्पोर्ट्स र सेपाक ताक्रोलगायत २३ खेल आयोजना गर्ने तयारी छ।
त्यस्तै, कर्णालीका अन्य जिल्लामा पनि विभिन्न खेल सञ्चालन हुनेछन्। दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा रुकुम पश्चिममा शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने तय भएको छ।
राष्ट्रिय खेलकुदका लागि ठूलो लगानीमा पूर्वाधार निर्माण गरिए पनि केही खेल अन्य प्रदेशमा सारिएपछि कर्णालीमा बनेका संरचनाको उपयोग र प्रतियोगिता आयोजनासम्बन्धी निर्णय प्रक्रियामाथि बहस सुरु भएको छ।