मुगुमा भएको भ्यान दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ। उनीहरूको स्वास्थ्य अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि गृह मन्त्रालयसँग सहयोग मागेको हो।
आइतबार दिउँसो करिब ४ बजे छायाँनाथ रारा नगरपालिका–७ स्थित जिरो प्वाइन्ट नजिक भ्यान दुर्घटना भएको थियो। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा.१ ज.प. १८६४ नम्बरको पिकअप भ्यान कच्ची सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णबहादुर थापा रहेका छन्।
दुर्घटनामा ललितपुरकी ५४ वर्षीया अञ्जु थापा र ५८ वर्षीया कञ्चन थापा गम्भीर घाइते भएका छन्। उनीहरूको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको थियो।
जिल्ला प्रशासन कार्यालयले घाइते दुवैलाई थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल लैजान गृह मन्त्रालयलाई पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविराज थपलियाका अनुसार उनीहरूको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गर्न आवश्यक भएको हो।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ।