नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल सडकबाट करिब एक सय मिटर तल खस्दा तीनै जनाको ज्यान गएको हो।
बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिकाका ४७ वर्षीय बुद्धिमान तामाङ रहेका छन्। त्यस्तै, मोटरसाइकलमा सवार विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगरको पनि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको खुलेको छ।