अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनमा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने अपेक्षा गरेका छन्। सम्भावित भेटमा इरान युद्ध अन्त्य, आणविक हतियार नियन्त्रण र रूस–युक्रेन युद्धलगायत विषयमा छलफल हुन सक्ने उनले बताएका छन्।
आइतबार फ्लोरिडाबाट वासिङ्टन फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोभेम्बर १८ र १९ मा चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने सम्मेलनमा सहभागी हुने जानकारी दिएका हुन्। उनले सी र पुटिनसँगको भेटमा विभिन्न अन्तर्राष्ट्रिय मुद्दाका साथै आणविक हतियार घटाउने विषयलाई प्राथमिकता दिने बताए।
ट्रम्पले यसअघि पनि अमेरिका, चीन र रूसबीच हतियार नियन्त्रणसम्बन्धी छलफल गर्न आफू इच्छुक रहेको बताउँदै आएका थिए। विशेषगरी तीनै देशका आणविक हतियारको संख्या घटाउने विषयमा सहमति खोज्नु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
यसैबीच, रुसी राष्ट्रपति पुटिनले पनि सम्भावित भेटलाई रूस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने विषय उठाउने अवसरका रूपमा लिन सक्ने बताइएको छ। सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अझै जारी छ। ट्रम्पले भने हालैको एक टेलिभिजन अन्तर्वार्तामा दुवै देशबीच युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगेको दाबी गरेका थिए। यद्यपि, त्यसका सर्तबारे उनले स्पष्ट पारेका छैनन्।
तीन शक्तिशाली राष्ट्रका नेताबीच भेटवार्ता भए त्यसलाई महत्त्वपूर्ण कूटनीतिक घटनाका रूपमा हेरिएको छ। तर, आणविक हतियार, युक्रेन युद्ध र इरानको विषयमा उनीहरूबीच कति सहमति जुट्छ भन्ने अनिश्चित छ। तीनै देशका फरक रणनीतिक स्वार्थका कारण ठोस निष्कर्षमा पुग्न चुनौती रहेको विश्लेषकहरूको भनाइ छ।
युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकको प्रतिबन्ध सामना गरिरहेको रूसका लागि अमेरिकी र चिनियाँ राष्ट्रपतिसँग एउटै मञ्चमा देखिनु अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने अवसर हुन सक्छ। चीनले पनि यस्तो भेटमार्फत विश्व राजनीतिमा आफ्नो भूमिका र प्रभाव प्रदर्शन गर्न सक्ने आकलन गरिएको छ।
ट्रम्प यस वर्ष तेस्रोपटक चिनियाँ राष्ट्रपति सीसँग भेट्ने तयारीमा छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्न भएको अस्थायी सहमति आगामी जनवरीमा समाप्त हुने भएकाले सम्भावित भेटमा व्यापार तथा आर्थिक सम्बन्धका विषयले पनि महत्त्व पाउने अपेक्षा गरिएको छ।
तर, युक्रेनलाई सहभागी नगराई रूस र अमेरिकाबीच हुने कुनै पनि शान्ति छलफलले युद्ध अन्त्यको प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न पनि उठिरहेको छ। चीनले यस वर्ष २१ सदस्य राष्ट्र रहेको एपेकको शिखर सम्मेलन आयोजना गर्दैछ, जसमा अमेरिका र रूससमेत सदस्य छन्।