जेनेरेसन जेड, सामाजिक सञ्जाल र नेपाली राजनीति

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ फाल्गुण, २०८२
४ महिनाअघि

आजको नेपाली राजनीतिक परिदृश्यमा जेनेरेसन जेड (Gen-Z) अर्थात् सन् १९९७ देखि २०१२ बीच जन्मिएको पुस्ताको उपस्थिति तीव्र रूपमा बढ्दो छ । प्रविधिको काखमा हुर्किएको, सामाजिक सञ्जालसहितको डिजिटल संसारमा अभ्यस्त यो पुस्ताको सोच्ने तरिका, प्रतिक्रिया दिने शैली र राजनीतिक संलग्नताको स्वरूप अघिल्ला पुस्ताभन्दा निकै भिन्न देखिन्छ ।

सडकदेखि सामाजिक सञ्जालसम्म यसको सक्रियता बढ्दै जाँदा आशा र आशंका दुबै एकैसाथ उब्जिरहेका छन् । यत्ति प्रश्न उठ्छ, यो हस्तक्षेप परिपक्व राजनीतिक चेतनाको अभिव्यक्ति हो, वा केवल आक्रोश ।

आन्दोलन यथास्थितिविरुद्धको प्रतिशोध कि अवसरवादको खेल मैदान ?

जेनेरेसन जेड नेतृत्वमा देखिएका पछिल्ला आन्दोलनहरूलाई नजिकबाट हेरिँदा, तिनको मूल मनोविज्ञान दशकौँयतादेखि थिचिँदै आएको कुण्ठा, असन्तुष्टि र यथास्थितिप्रतिको आक्रोशसँग गहिरो रूपमा गाँसिएको देखिन्छ ।

पुराना राजनीतिक दलहरूका असफलता, दोहोरिने भ्रष्टाचार, शक्ति सन्तुलनको खेल, र जनअपेक्षा र परिणामबीचको फराकिलो खाडलले यो पुस्तामा स्थापित संरचनाप्रति गहिरो वितृष्णा पैदा गरेको छ । त्यसैले सडकमा उत्रिने, सत्तालाई ठाडै प्रश्न गर्ने, परम्परागत नेताहरूलाई कठघरा उभ्याउने यो चाहनालाई पूर्णतः नकार्न सकिँदैन यसमा परिवर्तनको आवश्यकता देखिएको छ ।

तर, यही आक्रोश र असन्तुष्टिलाई केही अवसरवादी शक्तिहरूले आफ्नो राजनीतिक लाभको उपकरण बनाउने जोखिम पनि समानान्तर रूपमा रहेको छ । अझै स्पष्ट वैचारिक दिशा, दीर्घकालीन कार्ययोजना र संस्थागत संरचनाविहीन भीडलाई भर्‍याङ बनाउँदै सत्तासम्म पुग्ने, वा पुरानै शैलीमा नयाँ अनुहार बेच्नेहरूको संख्यामा कमी छैन ।

यस्तो अवस्थाले जेनेरेसन जेडको इमानदार ऊर्जा र परिवर्तनको चाहनालाई छायामा पार्ने, वा अन्ततः निराशामा बदलिदिने भय रहन्छ । आन्दोलन शक्तिशाली हुन्छ जब त्यसले आक्रोशलाई वैचारिक मार्ग र नीति–कार्ययोजनामा रूपान्तरण गर्छ, नत्र त्यो क्षणिक भावनाको विस्फोटमा सीमित रहन पुग्छ ।

सामाजिक सञ्जाल राजनीतिक संस्कारको पाठशाला कि सतही सीमारेखा ?

आजको जेनेरेसन जेडका लागि राजनीति धेरै हदसम्म सामाजिक सञ्जालकै फ्रेममा व्याख्यायित हुन थालेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा बनाइने छोटा भिडियो, जोशिला पन्चलाइन र भावनात्मक भाषणहरूमार्फत राजनीतिक सन्देश तीव्र गतिमा फैलिरहेका छन् ।

यसले राजनीतिक विषयलाई आम युवाको ध्यान केन्द्रमा पुर्‍याएको, जटिल मुद्दालाई सरल भाषामा ल्याएको, र सत्तालाई जनतासमक्ष जवाफदेही बनाउन मद्दत पुर्‍याएको सकारात्मक पक्ष छ ।

तर, त्यहीँ सीमित रहेर राजनीति बुझ्ने प्रवृत्ति गम्भीर चुनौती पनि हो । घोषणापत्र अध्ययन गर्ने, नीतिगत दस्तावेज बुझ्ने, ऐतिहासिक पृष्ठभूमि र शक्ति–सम्बन्धको संरचना जान्ने, प्रतिवाद र बहससहितको गम्भीर संवादमा सहभागी हुने कामलाई निकै थोरैले प्राथमिकता दिन्छन् ।

सजिलो रूपमा हाइज्याक गर्न सकिने ट्रेन्डिङ हुन नसकेको आक्रोश, सामाजिक सञ्जालका सामग्रीमा सक्रिय संग्लनता खोज्ने मानसिकताले नेताहरूलाई पनि नीतिभन्दा बढी प्रोपोगान्डा र ‘कन्टेन्ट’ उत्पादनतर्फ उन्मुख गराइरहेको छ ।

सामाजिक सञ्जाल सूचनाको शक्तिशाली माध्यम हो, तर त्यो स्वयम् राजनीतिक संस्कार होइन त्यहाँ प्राप्त सूचनालाई कति समालोचनात्मक रूपमा छानबिन गरिन्छ र व्यवहारमा रूपान्तरण गरिन्छ, त्यहीँबाट संस्कार निर्माणको यात्रा सुरु हुन्छ ।

अन्धभक्तिको नयाँ डिजिटल संस्करण

नेपाली समाजमा राजनीतिक अन्धभक्तिको इतिहास पुरानै हो । हाम्रा बुबा–हजुरबुबाका पुस्ताले कुनै एक पार्टी वा विचारधाराप्रति आँखा चिम्लेर, हाम्रो हो भने ठिकै भन्ने भावनामा आधारित समर्थन गरेको अनेकौँ उदाहरण छन् ।

आजको जेनेरेसन जेडले भने सोही प्रवृत्तिलाई नयाँ रूप–रंगसहित पुनः दोहोर्‍याउने खतरा बोकेको छ—तर यसको केन्द्रमा ‘पार्टी’ भन्दा बढी ‘व्यक्ति’ र ‘इमेज’ देखिन्छ ।

नयाँ अनुहार, चम्किलो प्रस्तुति, पपुलिस्ट नाराहरू, सामाजिक सञ्जालमा उच्च उपस्थितिसहितका नेताहरूलाई बिना गहिरो अध्ययन डिजिटल मञ्चहरूमा देवत्वकरण गर्ने, आलोचना गर्नेलाई ‘हेटर’ को ट्याग टाँस्दै व्यङ्ग गर्न खोज्ने प्रवृत्ति बलियो बन्दै गएको छ ।

पुरानो पुस्ता भय र भरोसाले बाँधिएको थियो भने आजको पुस्ता ‘हाइप’ र ‘इमोशन’ ले बाँधिने जोखिममा छ । यदि कुनै पनि नेता वा समूहलाई उसको विचार, नीतिगत धार, ट्र्याक–रेकर्ड र लोकतान्त्रिक व्यवहारको कसीमा नजोखी केवल ‘भाइरल’ उपस्थितिका आधारमा स्वीकार गरिन्छ भने, त्यो अन्धभक्तिको डिजिटल संस्करणबाहेक अरू केही होइन ।

निष्कर्षः नेतृत्व बदल्ने मात्र कि मतदाताको सोच पनि ?

नेपालमा परिवर्तनको भाष्य प्रायः ‘नेतृत्व परिवर्तन’ वा ‘नयाँ शक्ति’को उदयसँग जोडेर प्रस्तुत गरिन्छ । तर, वास्तविक र दिगो रूपान्तरणको पूर्वशर्त ‘मतपत्र’ होइन, ‘मतदाताको सोच’ परिवर्तन हो ।

जेनेरेसन जेडले आफूलाई केवल ‘आक्रोशित सडक शक्ति’ मा सीमित नराखी, ‘नीति–आधारित सचेत नागरिक’का रूपमा पुनर्संरचना गर्न सकेन भने, नयाँ अनुहार आए पनि पुरानै शैली दोहोरिने सम्भावना रहन्छ ।

नेतृत्वलाई उसको घोषणापत्र, नीतिगत प्रस्ताव, संगठनात्मक आचरण र विगतको जिम्मेवारी निर्वाहका आधारमा प्रश्न गर्नु आजको मूल आवश्यकता हो । राजनीतिक भेला, संवाद र बहसलाई ‘बोरिङ’ होइन, लोकतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गर्नु, र सामाजिक सञ्जाललाई सूचनाको प्रारम्भिक स्रोत त बनाउने तर अन्तिम निर्णय आफ्नै विवेकले लिने अभ्यास विकसित गर्नु जरुरी छ ।

जेनेरेसन जेडले राजनीतिलाई ‘फेसन’ वा केवल ‘आक्रोश पोख्ने प्लेटफर्म’ भन्दा माथि उठाएर ‘नीति, विचार र दीर्घकालीन दृष्टिकोणको थलो’का रूपमा अंगिकार गर्न सके मात्र परिवर्तन अर्थपूर्ण हुन्छ ।

हामीलाई आज आवश्यक पर्ने कुरा ‘भाइरल’ होइन, ‘भिजनरी’ नेतृत्व हो—र त्यस्ता नेतृत्व जन्माउने उर्वर भूमि भनेको सचेत, समालोचक र जिम्मेवार नागरिक–पुस्ता हो, जसको भूमिका पुरानाभन्दा नयाँ पुस्ताले अझै निर्णायक रूपमा खेल्नुपर्छ ।

प्रकाशित समय: शनिवार २ फाल्गुण, २०८२, ११:००:२१
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा
आईतबार ३१ जेठ, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०