एसएस राजामौली साउथ चलचित्र जगत्का यस्ता निर्देशक हुन्, जो कल्पनामा बुनेका कुराहरूलाई चलचित्रमा उतार्न सिपालु मानिन्छन् ।
एसएस राजामाैली हरेक उमेर समूहका वर्गलाई ध्यान राखेर चलचित्र बनाउने गर्छन् ।
‘बाहुबली : दि बिगिनिङ’ र ‘बाहुबली : दि कन्क्लुजन’ निर्देशन गरिसकेका यिनको चलचित्र बलिउडमा ब्लकबस्टर ठहरिँदै आएको छ ।
‘आरआरआर : राइज रोर रिभोल्ट’ पनि त्यही कोटीमा पर्ने सम्भावना छ ।
किनभने यिनै दर्शकहरू यस चलचित्रका निम्ति प्रतीक्षारत थिए ।
आरआरआर दुई नायक भीमा (एनटीआर जुनियर) र सितारामा राजु (रामचरण)को वरपर घुमेको छ ।
चलचित्रको कथाले दर्शकलाई सन् १९२० मा पुर्याउँछ ।
सन् १९२० तिर हिन्दुस्तानमा अङ्ग्रेजको क्रूरताको पराकास्टा थियो ।
त्यस परिवेशलाई सर्वनाश गर्नुमा नै चलचित्र घुमेको छ ।
सिनेमामा सन् १९२० को दशकको ब्रिटिसकालीन भारतलाई देखाइन्छ ।
जसमा स्काट र उनकी पत्नीले स्थानीय गोंड जातीको एक बच्ची मलीलाई जबरजस्ती उठाएर दिल्ली लैजान्छन् ।
त्यही मलीलाई बचाउन आउँछन् भीम (जूनियर एनटीआर)। अङ्ग्रेज सरकारलाई यसको जानकारी हुन्छ ।
उसलाई रोक्नको लागि एक व्यक्ति चुनिन्छन्, ती हुन्छन् रामराजु राम (रामचरण)।
राम पनि आफ्नो समाजको मुक्तिको लागि बन्दुक लुट्न पुलिसमा जागिर खाएको हुन्छ ।
मली र माटोको मुक्तिका लागि यी पात्रका अभिनय बेजोड छ ।
अङ्ग्रेजहरूको समूहमा रहेका भारतीय सिपाही रामालाई भीमालाई पक्रने जिम्मा दिइन्छ ।
भीमा र रामाले एक अर्कालाई चिनेका हुँदैनन् । दुवैको भेट हुन्छ र दुवै घनिष्ट साथी पनि बन्न पुग्छन् ।
भीमालाई रामा अङ्ग्रेज सिपाही हो भन्ने सुरुमा थाहा हुँदैन तर जब पछि उसले यो कुरा थाहा पाउँछ त्यसपछि के हुन्छ भन्ने नै ‘आरआरआर’को कथा हो ।
के बच्चीलाई अङ्ग्रेजबाट छुटाउन भीमा सफल हुन्छन् ? के भीमालाई समात्न रामा सफल हुन्छन् होला ?
रामा अङ्ग्रेजहरूका लागि काम किन गरिरहेका छन् ? यी सबै कुराहरूको जवाफ पाउन ‘आरआरआर’ हेर्नुपर्ने हुन्छ ।
चलचित्रको क्लाइमेक्स धेरै राम्रो छ ।
क्लाइमेक्सले नै चलचित्रलाई उम्दा बनाउने काम गरेको छ ।
जुनियर एनटीआर र रामाचरणको अभिनयले चलचित्रलाई बेजोड बनाएको छ ।
चलचित्रमा यति उत्कृष्ट एक्सनका दृश्यहरू छन् कि तिनले दर्शकलाई तीन घण्टा एकै ठाउँ राखिदिन्छ ।
आलिया भट्टको भूमिका छोटो छ तर स्मरणीय छ ।
अजय देवगनको भूमिका पनि खासै ज्यादा छैन तर आफ्नो भूमिकालाई उनले दमदार अभिनयमार्फत न्याय गरेका छन् ।
अन्य सहयोगी कलाकारहरूको अभिनयलाई पनि हामीले बिर्सन सक्दैनौँ ।
विजेन्द्र प्रसादको कथा रोचक छ ।
केके सेन्थिलको सिनेम्याटोग्राफीलाई जति तारिफ गरे पनि कम हुन्छ ।
उनको शिल्पले चलचित्रमा देखाइएका एक्सनका दृश्यलाई झनै दमदार बनाइदिएको छ ।
चलचित्रले देशभक्त चरित्रलाई चित्रण गरेको छ ।
चलचित्रको सेट र भीएफएक्सको जति तारिफ गरे पनि कम हुन्छ ।
चलचित्र राम्रो बन्नुको कारण यसको भीएफएक्सले गर्दा पनि हो ।
चलचित्रको सङ्गीत, पटकथा र निर्देशकीय पक्ष पनि राम्रो छ ।
चलचित्रको गीत र दुवै नायकको नृत्यलाई दर्शकले रुचाउने छन् ।
राजामौली जस्ता निर्देशकबाट दर्शकले निकै अपेक्षा राखेका हुन्छन् ।
यस चलचित्रमा उनले आफ्नो पहिचान कायम राख्न कति सफल भएका छन् भन्ने प्रश्नको जवाफ भने चलचित्र हेरेर नै दिन सकिन्छ ।
यो पनि : नाबालिगमाथि करणी गरेको आरोपमा अभिनेता पल शाह जेल चलान [पूर्णपाठसहित]