१५ महिनाभन्दा कम उमेर समूहका बालबालिकालाई विभिन्न रोगको जोखिमबाट बचाउनका लागि केहि नियमित खोप लगाउनुपर्ने हुन्छ ।
नेपालमा शिशु जन्मेदेखि १५ महिनाको अवधिमा बीसीजी, डीपीटी, रुबेला, पोलियो, पीसीभी, दादुरा लगायत विभिन्न प्रकारका १२ वटा खोप अनिवार्य रूपमा लगाउनुपर्छ ।
यि रोगहरू समाजमा पहिलै देखि फैलिरहेको र यसविरुद्धका खोपहरू निकै प्रभावकारी रहेको हुनाले नेपाल सरकारले यी खोपलाई स्वास्थ्य प्रणालीमा अनिवार्य गरिएको छ ।
न्युरो कार्डियो एन्ड मल्टिस्पेसालिटी हस्पिटलका बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद शाहका अनुसार नवजात शिशु तथा बच्चाहरूको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित नभएको हुँदा उनीहरू विभिन्न प्रकारका सङ्क्रमणको जोखिममा हुन्छन् ।
बालबालिकाका लागि लगाइने नियमित खोपहरू जुन-जुन समयमा लगाउनुपर्ने हो, त्यही समयमा नलगाइएमा बालबालिकालाई विभिन्न रोग तथा सङ्क्रमण हुन सक्ने जोखिम रहन्छ ।
नियमित खोप नलगाएमा भविष्यमा बच्चालाई गएर झाडापखाला, निमोनिया, क्षयरोग, हेपाटाइटिस, डिप्थेरिया, दादुराको जोखिम बढी हुने डा. शाह बताउँछन् ।
उनका अनुसार यी रोगहरूले स्वस्थ्य अवस्थालाई गम्भीर पार्ने देखि बिगार्न पनि सक्ने हुँदा बालबालिकालाई दिइने नियमित खोप कुनै पनि हालतमा पनि छुटाउन हुदैन ।
‘नवजात शिशुलाई जन्मनेबित्तिकै बिसिजी खोप लगाइदिनुपर्छ’, उनले भने, ‘एक डोज लगाए पुग्ने उक्त खोपले क्षयरोग तथा मष्तिष्कमा हुने क्षयरोगविरुद्ध जोगाउन र गम्भीरता घटाउन मद्दत गर्छ ।’
त्यसपछि डिपिटी/ हेपाटाइटिस-बी, पोलियोको खोप, निमोनियाविरुद्ध पिसिभी खोप, दादुरा, रुबेलाविरुद्धको खोप, मम्पस्, टिटानसको खोप, जापानिज इन्सेफ्लाइटिस, एफआइपिभी खोप, रोटा भाइरसविरुद्धको खोप दिनुपर्छ ।
यि खोपहरू जन्मिएको ६ हप्ता, १० हप्ता, तीन महिना, नौ महिना र बुस्टर डोजहरू १५ महिनासम्मको उमेरमा दिइने उनको भनाइ छ ।
बालबालिकालाई तालिका अनुसार सबै खोपको सबै मात्रा नछुटाई अनिवार्य रूपमा पूरा गराउनुपर्ने हुन्छ । नियमित खोप बालबालिकामा हुने मृत्युदर घटाउनका लागि दिइन्छ ।
उनका अनुसार प्राय जसो खोपहरू बच्चा पाँच वर्षको उमेरसम्म पुग्दा सबै दिइसकेको हुनुपर्छ ।