सर्लाहीको बरहथवा नगर अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड र आगजनी भएको छ।
प्रसूति सेवाका लागि तीन दिनअघि अस्पताल भर्ना भएकी बरहथवा नगरपालिका–५ निवासी सीमा देवी रामको आइतबार राति उपचारका क्रममा मृत्यु भएको हो।
चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी गरेका थिए। घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनाका क्रममा केही चिकित्सकमाथि कुटपिटसमेत भएको अस्पतालले जनाएको छ। सुरक्षाको कारण देखाउँदै चिकित्सक, स्वास्थ्यकर्मी र केही बिरामी अस्पतालबाट बाहिरिएका थिए।
मृतक महिलाको शव पोस्टमार्टमका लागि मलंगवास्थित शवगृहमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।