काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।
प्रधानमन्त्री शाह आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन् । उनी भारत भ्रमणमा रहेका बेला सरकारको दैनिक प्रशासनिक तथा आवश्यक कामकारबाही सञ्चालन गर्ने जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिन लागिएको हो ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा सहभागी हुँदैछन् । यसअघि भ्रमण टोलीमा सहभागी हुने भनिएका ऊर्जा मन्त्री श्रेष्ठ भने अन्तिम समयमा भारत नजाने भएका छन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री र परराष्ट्रमन्त्रीसमेत विदेश भ्रमणमा रहने भएपछि सरकारको वरीयताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक काम सञ्चालन गर्ने जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको स्रोतले जनाएको छ । सोही सिफारिसका आधारमा राष्ट्रपतिबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिनेछ ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको व्यापार, लगानी, पारवहन, ऊर्जा सहकार्य, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय पनि प्राथमिकतामा रहनेछन् ।
प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा विभिन्न औपचारिक तथा कूटनीतिक कार्यक्रममा सहभागिता जनाउनेछन् । दुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री भारतमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने श्रेष्ठले सरकारका दैनिक प्रशासनिक कामकारबाही अघि बढाउनेछन् ।