विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको कामना गरेका छन्। सामाजिक सञ्जालमार्फत कर्णालीवासीलाई सम्बोधन गर्दै उनले प्रतियोगिताले खेलकुद विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भाव बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ भने मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्।
प्रतियोगितामा राष्ट्रिय स्तरका आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुनेछन्। कर्णालीका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेल पूर्वाधार विकास र खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने प्रधानमन्त्रीको भनाइ छ।
उनले प्रतियोगितामार्फत कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत मद्दत पुग्ने बताएका छन्।
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनु दुःखद भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अब सरकारले प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।