विराटनगर । भारतको राजस्थानस्थित कोटामा भएको सडक दुर्घटनामा नौ जनाको ज्यान गएको छ। तीर्थयात्री बोकेको क्रुजर गाडी सडक किनारमा रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार शम्भुपुरानजिकै मध्यरातमा भएको दुर्घटनाका बेला गाडीमा १६ जना सवार थिए। दुर्घटनामा अन्य केही यात्रु घाइते भएका छन्।
कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार दुर्घटनामा परेका सबै महाराष्ट्रका बासिन्दा हुन्। उनीहरू खाटूश्यामजीको दर्शन गरेर महाराष्ट्र फर्किंदै थिए।
दुर्घटनामा मृत्यु भएका नौ जना एउटै परिवारका सदस्य रहेको बताइएको छ। घाइतेहरूको उपचार भइरहेको र मृतकको शव परीक्षण प्रक्रिया अघि बढाइएको अधिकारीहरूले जानकारी दिएका छन्।