विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी कडा नीतिको प्रभाव भारतीय नागरिकमाथि पनि परेको छ। अमेरिकन कम्युनिटी मिडियाको रिपोर्टअनुसार सन् २०२५ जनवरीदेखि २०२६ अगस्टसम्म अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले ६ हजार १११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
रिपोर्टअनुसार पक्राउ परेकामध्ये ५ हजार २३५ जनालाई डिपोर्टेसन सेन्टरमा राखिएको थियो भने २ हजार ३४९ जनालाई देशनिकाला गरिएको थियो। अमेरिकामा भारतीय नागरिक पक्राउ परेको यो अहिलेसम्मकै ठूलो संख्या भएको दाबी गरिएको छ।
संस्था ‘स्टप एएपीआई हेट’का अनुसार मध्यावधि निर्वाचनअघि आईसीईले छापा र पक्राउ अभियान तीव्र बनाएको थियो। एसिया–प्रशान्त क्षेत्रका समुदायमध्ये भारतीय नागरिक सबैभन्दा बढी पक्राउ पर्ने र देशनिकाला हुने समूहमा रहेको संस्थाको दाबी छ।
यस अभियानको असर लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका भारतीय मूलका व्यक्तिमाथि समेत परेको छ। क्यालिफोर्नियामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी ६० वर्षीया भारतीय मूलकी महिला बबली (नाम परिवर्तन) ग्रीनकार्ड स्वीकृत भइसकेपछि पनि अध्यागमन प्रक्रियाका क्रममा पक्राउ परेकी थिइन्। उनी एक सातापछि हिरासतबाट मुक्त भएकी थिइन्।
क्यालिफोर्नियामा मात्रै ८५० भन्दा बढी भारतीय पक्राउ परेको रिपोर्टमा उल्लेख छ। त्यस्तै, वैध भिसामा अमेरिका पुगेका केही पेसाकर्मी र विद्यार्थीसमेत अध्यागमन कारबाहीमा परेको बताइएको छ। सामाजिक सञ्जालमा ट्रम्प प्रशासनको आलोचना गरेको तथा भिसाका सर्त उल्लंघन गरेको आरोपमा समेत केहीले देशनिकालाको सामना गर्नुपरेको विवरण सार्वजनिक भएका छन्।
भारतको विदेश मन्त्रालयका अनुसार सन् २०२५ मा अमेरिकाले ३ हजार ५६७ जना भारतीय नागरिकलाई देशनिकाला गरेको थियो। सन् २०२६ को जुनसम्ममा थप एक हजार ७६ जना भारतीयलाई देशनिकाला गरिएको मन्त्रालयको विवरण छ।
यसअघि सन् २०२५ फेब्रुअरीमा अमेरिकाले सैन्य विमानमार्फत १०४ जना भारतीयलाई भारत फर्काएको थियो। उनीहरूलाई हातमा हतकडी र खुट्टामा नेल लगाइएको तस्बिर सार्वजनिक भएपछि भारतमा विवादसमेत भएको थियो।