विराटनगर ।अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० गत महिना पुगेको उच्चतम बिन्दुबाट १० प्रतिशतले तल झरेको छ। कृत्रिम बौद्धिकता (एआई) उद्योगको भविष्य र यस क्षेत्रमा देखिएका चुनौतीप्रति लगानीकर्ताको चिन्ता बढेसँगै बजारमा गिरावट आएको हो।
वाल स्ट्रिटको भाषामा उच्चतम बिन्दुबाट सेयर बजार १० प्रतिशतले घट्नुलाई ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ। विश्लेषकहरूका अनुसार सेयरको मूल्य वास्तविक आर्थिक अवस्थाभन्दा अत्यधिक माथि पुगेको अवस्थामा यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग पुर्याउन सक्छ।
लगानीकर्ताको अत्यधिक उत्साहका कारण सेयरको मूल्य अस्वाभाविक रूपमा बढेमा बजार सुधारले त्यसलाई यथार्थपरक स्तरमा फर्काउन भूमिका खेल्ने गर्छ। यद्यपि, यस्तो गिरावटले लगानीकर्तामा अनिश्चितता र थप ठूलो गिरावटको आशङ्का पनि बढाउँछ।
विशेषगरी बजार सुधारपछि ‘बियर मार्केट’ सुरु हुने हो कि भन्ने चिन्ता लगानीकर्तामा देखिने गरेको छ। बजार सूचकाङ्क आफ्नो उच्चतम बिन्दुबाट कम्तीमा २० प्रतिशतले घटेमा त्यसलाई ‘बियर मार्केट’ भनिन्छ। यसलाई बजारमा गहिरो गिरावटको अवस्थाका रूपमा लिइन्छ।
पछिल्लो गिरावटले एआई उद्योगको तीव्र विस्तार, त्यसका चुनौती र प्रविधि कम्पनीहरूको भविष्यप्रति लगानीकर्ताको विश्वासबारे बहस चर्काएको छ। तर १० प्रतिशतको गिरावटलाई मात्रै आधार मानेर बजार मन्दी सुरु भएको निष्कर्ष निकाल्न नमिल्ने विश्लेषकहरूको भनाइ छ।