काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रम रोक्न तथा त्यहाँका नेतृत्वमाथि दबाब सिर्जना गर्न ‘सीमित सैन्य हमला’ गर्ने विषयमा विचार भइरहेको बताएका छन्।
पत्रकारहरूसँग कुराकानी गर्दै उनले इरानसँग नयाँ सम्झौता हुने वा अमेरिकाले सैन्य कारबाही अघि बढाउने भन्ने विषयमा आगामी १० दिनभित्रै निर्णय हुने स्पष्ट पारे।
बीबीसीका अनुसार पछिल्ला हप्ताहरूमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको छ। इरानसँगको तनाव उत्कर्षमा पुगेका बेला ट्रम्पले सैन्य विकल्प खुला रहेको संकेत दिएका छन्। अमेरिकी अधिकारीहरूले पनि सम्भावित सैन्य कारबाहीबारे विभिन्न संकेतहरू दिँदै आएका छन्।
यसैबीच कूटनीतिक पहल पनि जारी रहेको बताइएको छ। इरानका विदेशमन्त्री अब्बास अराक्चीले अमेरिकासँग सम्भावित सम्झौताको मस्यौदा केही दिनभित्र तयार हुने र त्यसलाई अमेरिकी विशेष दूत स्टिभ विट्कफलाई बुझाइने जानकारी दिएका छन्।
इरानले परमाणु हतियार विकास गरिरहेको आशंका अमेरिका र युरोपेली मुलुकहरूले गर्दै आएका छन्। तर इरानले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै हतियार विकासको आरोप अस्वीकार गर्दै आएको छ।