विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रम, प्रश्नपत्र निर्माण तथा अध्यापन–सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी शिक्षक तालिम तथा कार्यशाला सम्पन्न भएको छ।
तालिममा विराटनगरका विभिन्न विद्यालयका २५ जनाभन्दा बढी शिक्षक सहभागी भएका थिए। पाठ्यक्रम विकास केन्द्रका विज्ञ तथा पाठ्यपुस्तक लेखक इन्जिनियर नवीन मास्केले सहजीकरण गरेको तालिमलाई प्रिन्ट नेपाल पब्लिकेसन्सले सहयोग गरेको थियो।
समापन कार्यक्रममा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराई प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रिन्ट नेपाल पब्लिकेसन्सका प्रबन्ध निर्देशक राजेन्द्र थपलिया, प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, सहसचिव दिनेश ढुङ्गाना, सदस्य विजय सिंहलगायतको उपस्थिति थियो।
प्रमुख अतिथि भट्टराईले शिक्षकको व्यावसायिक विकासमा प्याब्सनले पुर्याएको योगदानको प्रशंसा गर्दै विराटनगरलाई शैक्षिक हब बनाउन निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले समयअनुकूल शिक्षाका लागि शिक्षकको क्षमता विकास आवश्यक रहेको बताउँदै पाठ्यक्रम, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्तासम्बन्धी तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।
तालिममा सहभागी शिक्षक विशाल अग्रहरीले कार्यक्रम उपलब्धिमूलक रहेको भन्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।