विराटनगर ।विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगितामा अर्किड स्कुल र कान्तिपुर स्कुलले विजयी सुरुआत गरेका छन्।
प्रतियोगिताको पहिलो दिन भएको खेलमा अर्किडले डिपिएसलाई २–० गोलले पराजित गर्दा कान्तिपुरले एभरेस्ट स्कुलमाथि ५–० गोलको प्रभावशाली जित निकालेको हो।
डिपिएसविरुद्धको खेलमा अर्किडका रोहन पासवान र बिकेस बिस्वासले गोल गरे। सुरुदेखि नै आक्रामक देखिएको अर्किडले खेलभर आफ्नो दबाब कायम राख्दै जित सुनिश्चित गर्यो।
यस्तै, एभरेस्टविरुद्ध कान्तिपुरले एकतर्फी प्रदर्शन गर्दै पाँच गोल गर्यो। कान्तिपुरका सिद्धार्थ गुरुङले दुई तथा राजन मण्डल, प्रज्ज्वल ठकुरी र रोहित सरदारले एक–एक गोल गरे।
प्रतियोगिताको दोस्रो दिन चार खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका यू–१८ टोलीको सहभागिता रहेको छ।