डाक्टर बालकृष्ण, जसले गराए एक लाखभन्दा बढीको सुरक्षित गर्भपतन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ पुस, २०८०
२ महिनाअघि

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहलाई अहिलेजस्तो लाग्छ, ‘क्रिटिकल’ अवस्थाकी गर्भवती महिलाको गर्भपतन गर्नुपरेको ।

अनि, दुई दिन त्राहिमाम भएर बसेको ।

२०६८ सालतिरको कुरा हो । त्यसबेला उनी झापाको मेची अस्पतालमा मेडिकल अधिकृतका रूपमा कार्यरत थिए ।

सुरक्षित गर्भपतनका लागि नेपाल सरकारबाट तालिमप्राप्त र सूचीकृत चिकित्सक थिए, उनी ।

गर्भपतनमा थुप्रै अनुभव सङ्गालिसकेका कारण पनि धेरै गर्भवती महिलाहरू उनीसँग परामर्श लिन आइपुग्थे ।

त्यसमध्ये धेरै उनीबाट गर्भपतनको सेवा लिइसकेका पनि हुन्थे ।

त्यसैबीचमा सुरुङ्गाकी एक महिला अनिच्छित गर्भ लिएर उनी भएठाउँ ‘एबर्सन’ गर्न आइन् ।

मुटुको शल्यक्रिया गरेर ‘वार्फरिन’ नामक औषधि सेवन गरिरहेकी थिइन्, उनी ।

‘उहाँ गर्भपतन गराउन आउँदा नै मैले मेरा प्रशिक्षकहरूलाई सोधेको थिएँ, फिजिसियनसँग पनि सल्लाह लिएँ,’ विगत सम्झिँदै उनी भन्छन्, ‘वार्फरिन खाइरहेका बिरामीको गर्भपतन गराउँदा जोखिम हुन्छ भन्ने सल्लाह पाएपछि अलि हच्किएको थिएँ ।’

गर्भिणी महिला भने गर्भपतन गराउनै पर्ने बाध्यतामा थिइन् ।

आठ हप्ते भ्रुण ती महिलाको पेटमा हुर्कँदो अवस्थामा थियो, उनमै आश्रित भएर ।

तर, उनी भने कुनै पनि हालतमा बच्चा पाउने मनसायमा थिइनन् ।

उनी मुटुको बिरामी थिइन् । मुटुको समस्याले गर्दा बच्चा हुर्काउनै नसक्ने उनको परिस्थिति थियो ।

उनलाई सुरक्षित रूपमा गर्भपतन गराउन पाउने अधिकार थियो ।

अरूलाई अधिकारबाट बञ्चित गराउने अभिप्रायमा डा. साह पनि थिएनन् ।

यसैले उनी आफ्ना ‘सिनियर’ हरूको रायविपरीत ‘रिस्क’ लिने दृढतामा पुगे ।

तर, केही भइहालेमा बिरामी र डाक्टर दुवैलाई संकट आइपर्ने निश्चित थियो ।

यसैले डा. साहले बिरामीका आफन्तलाई मन्जुरनामामा सबैको हस्ताक्षर गराए ।

बिरामीका श्रीमान्, आमा-बुबालाई राखेर ‘केही भएमा डाक्टर जिम्मेवार हुनेछैन’ भन्ने स्वीकृति पत्र बनाएपछि उनले गर्भपतन गराए ।

गर्भपतनपछि भने उनलाई बिरामीको अवस्था बिग्रने हो कि भन्ने सुर्ता लाग्यो ।

‘दुई दिनसम्म मन ढुकढुक भइरह्यो, ब्लिडिङ भयो कि भनेर चिन्तित भइरहें,’ विगत स्मरण गर्दै डा. साहले भने, ‘तर स्वास्थ्य अवस्था सामान्य नै छ भन्ने जानकारी पाएपछि आँट पलायो ।’

त्यो डा. साहको पहिलो गर्भपतन सेवा थिएन ।

तर उनको करिअरको अन्तिम एउटा गम्भीर अवस्थाको गर्भपतन भने जरुर थियो ।

‘हुन त अहिलेसम्म पनि मैले सुरक्षित गर्भपतन सेवालाई निरन्तरता दिइरहेको छु, भावी दिनमा केही नहोला भन्ने छैन । तर त्यो साँच्चिकै मेरो करिअरको पीडादायक पल थियो त्यो,’ उनले सुनाए ।

सूचीकृत भएको ११ वर्षयता डा. साहले एक लाखभन्दा बढी जनालाई सुरक्षित गर्भपतनको सेवा दिइसकेका छन् ।

गर्भपतनको ‘केस’मा अनुभवी मानिने उनी आफ्ना अधिकांश सेवा ‘नर्मल’ नै भएको बताउँछन् ।

‘ठ्याक्कै यकिन तथ्याङ्क त छैन, तर मैले अहिलेसम्म एक लाख जनाभन्दा धेरैको गर्भपतन गरिसकेको छु,’ उनी भन्छन्, ‘मैले दिएको गर्भपतन सेवा प्रायः क्रिटिकल वा कम्प्लेन आउने खालका छैनन् ।’

डा. साहले २०६८ सालको सुरुआततिर नेपाल सरकारबाट गर्भपतनको तालिम लिएका थिए ।

साहका लागि गर्भपतन रुचिको विषय थिएन । तर, लगातारको कामबाट ‘रिफ्रेसमेन्ट’ हुने अपेक्षाका साथ उनले तालिममा सहभागिता जनाएका थिए ।

उनले इटहरीस्थित परिवार नियोजनको कार्यालयमा १० दिने गर्भपतनको तालिम लिएका थिए ।

‘रिफ्रेसमेन्ट होला भनेर तालिममा सहभागी भएको थिएँ। तर, यसले त मेरो जीवनको उद्देश्य नै फेरिदियो,’ उनले भने ।

तालिममा सहभागी हुनुअघि उनले तालिम लिए पनि गर्भपतन सेवा दिने नै भन्ने विषय निर्क्यौल गरिसकेका थिएनन् ।

तर सो तालिम उनका लागि फलदायी मात्र बनेन, एउटा मुख्य कामको थालनी नै बनिदियो ।

तालिमपछि डा. साह सुरक्षित गर्भतन गर्ने अनेकन् उपायबारे जानकारमात्र भएनन्, असुरक्षित गर्भपतनका कारण धेरैको मृत्यु भएको तथ्यको पनि उनले बोध गरे ।

असुरक्षित गर्भपतनबाट हुने मातृमृत्युदरको तथ्याङ्क थाहा पाएपछि उनी मेडिसिन डिपार्ट पढ्ने धोको त्यागेर प्रसूति तथा स्त्री रोगतिर लम्किने दृढतामा लागे ।

मेची अस्पतालमै उनले पहिलोपटक गर्भपतन सेवा दिएका थिए ।

त्यसयता डा. साहले गर्भपतन नगरेको दिन नै छैन ।

नभएको पनि दिनमा एक जनालाई गर्भपतन सेवा दिन्छन्, उनी ।

कहिलेकाहीँ त १० जनासम्मले उनीबाट गर्भपतनको सेवा पाउँछन् ।

मातृ मृत्युदर न्यूनीकरणका लागि ‘गाइनोकोलोजी’ अध्ययन

४३ वर्षअघि सुनसरीको रामधुनी-९ मा जन्मिएका साहले गाउँमै आधारभूत शिक्षा ग्रहण गरे ।

उच्च शिक्षा पढ्न काठमाडौंको त्रिचन्द्र क्याम्पस पुगेका थिए । तर, पछि पाटन क्याम्पसबाट आइएस्सी पूरा गरे ।

बिएससी गर्दै गर्दा केएमसीमा एमबिबिएस अध्ययनका लागि नाम निस्किएपछि उनी त्यतातिर हानिए ।

त्यसबेला स्वास्थ्य क्षेत्रमा अध्ययन गर्नेहरू कम भएका कारण उनले अवसर पाइहाले ।

एमबिबिएसपछि ‘इन्टर्न’ गरिरहेका उनलाई झापाबाट काम गर्ने प्रस्ताव आयो ।

चारआलीस्थित माता पाथीभरा अस्पतालका सञ्चालकले उनलाई काठमाडौं पुगेरै प्रस्ताव राखे ।

‘नतिजा आउनुअघि नै पाथीभरा अस्पताल जोइन गरेँ,’ उनी सुनाउँछन्, ‘झापा आएको केही दिनमा एनएमसी नम्बर पनि पाएँ । तर निजी स्वास्थ्य संस्थामा खर्चिलो उपचार पद्धति देखेर निराश भएपछि सरकारी स्वास्थ्य संस्थामा काम गर्ने मनसाय बनाएको थिएँ ।’

२०६५ वैशाख १५ गतेबाट तत्कालीन मेची अञ्चल अस्पताल (हाल मेची अस्पताल) मा जागिर थाले ।

मेडिसिन डिपार्टमेन्टमा उनले काम सुरु गरे ।

त्यसबीचमै उनले सुरक्षित गर्भपतनको तालिम लिएका हुन् ।

तालिम लिएपछि उनलाई स्त्री रोग विभागमा पुग्नुपर्ने बाध्यता आइपर्‍यो ।

जबकि, उनी मेडिसिन डिपार्टमा काम गर्न चाहन्थे ।

तर, असुरक्षित गर्भपतनका कारण बढ्दै गएको मातृ मृत्युदरलाई सम्झिएर उनले ‘गाइनो डिपार्टमेन्ट’ रोजे ।

त्यतिमात्र नभएर उनले गाइनोकोलोजी पढ्नकै लागि मेची अस्पतालको जागिर पनि छोडे ।

मातृ मृत्युका चार वटा कारणमध्येको मुख्य समस्या रहेको असुरक्षित गर्भपतनलाई निर्मुल पार्ने अभियानमा सामेल हुन पनि डा. साहले सरकारी जागिर छोडेका थिए ।

२०६९ मा कोसी प्रदेशको दोस्रो ठूलो मेची अस्पताल छोडेका उनले दुई वर्ष स्त्री रोगका विषयमा अध्ययन गरे ।

वीर अस्पतालअन्तर्गत प्रसूति गृहबाट गाइनो सकेपछि उनले २०७१ सालमा कोसी अस्पताल, विराटनगरमा काम थाले, जुन कोसी प्रदेशकै ठूलो अस्पताल पनि हो ।

कोसी आउनुमा पनि एउटा नयाँ किस्सा थियो । गाइनोको अध्ययन सकिएपछि न्युरोडमा घुमिरहेका डा. साहले अचानक डा. उमाकान्त झालाई भेटे ।

डा. साहले मेचीमा काम गर्दाका मेडिकल सुपरिटेन्डेन्ट थिए, डा. झाले हालखबरपछि आफू कोसी अस्पतालको मेसु भएको बताउँदै उनलाई काम गर्न प्रस्ताव गरे ।

तर, डा. साहको परीक्षाफल आइसकेको थिएन । परीक्षाफल आएपछि परिवार महाशाखाले पठाएअनुरूप काम गनुपर्ने बाध्यतामा थिए, उनी ।

उनलाई पनि खोजेजस्तै भयो र विराटनगर आउने गरी सहमति भयो ।

‘कोसीका तत्कालीन चार गाइनेकोलोजिस्टले राजीनामा दिएको र थप दुई जनाले छोडेपछि उहाँ डाक्टरकै खोजीमा काठमाडौं पुग्नुभएको रहेछ,’ बितेका दिन सम्झिँदै उनी भन्छन्, ‘मलाई भेटेपछि उहाँले राख्नुभएको प्रस्ताव स्वीकार्दै म विराटनगर आइपुगेको हुँ ।’

‘पोस्टिङ’ नहुन्जेल विकास समितिबाट तलब पाउने गरी डा. साह कोसी अस्पताल आएका थिए ।

उनी आउनुअघि नर्मल प्रसूतिबाहेकका अरू सेवा स्त्री रोग विभागले दिन सकेको थिएन ।

सेवा बन्द भएको सूचना हटाएर उनले चौबीसै घण्टा काम गरे ।

‘मैले एक दिनमा १४ वटासम्म अपरेसन गरेको थिएँ, एकबेला,’ उनले थपे, ‘आठ महिना मैले दिन-रात नभनी काम गरेँ। तर राजनीति हाबी भएपछि मेरो पोस्टिङ सर्लाहीको मलङवा गराइयो । त्यसपछि कोसीमा पुनः सेवा बन्द भएछ ।’

त्यसपछि सुनसरीको इनरुवा र तेह्रथुम गरी उनले काम गरे ।

हाल उनी मोरङको विराटनगरस्थित मोरङ सहकारी र सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल शिक्षण अस्पतालमा कार्यरत छन् ।

कसरी बने प्रभावकारी गर्भपतन गराउने चिकित्सक ?

तालिम लिएयता उनले एक लाख जनाभन्दा बढीको सुरक्षित र प्रभावकारी रूपमा गर्भपतन सेवा दिएका छन् ।

गर्भपतन लामो अनुभव बटुलेका कारण पनि आफू यस क्षेत्रमा काम गर्ने प्रभावकारी चिकित्सक बन्न सफल भएको बताउँछन् ।

‘मैले एबोर्सन गरेको केसमा अहिलेसम्म लामो कम्प्लिकेसन आएको छैन,’ उनको दाबी छ, ‘यतिसम्म कि म कहाँ नै गर्भपतनको सेवा लिएका बिरामी आएर सकारात्मक प्रतिक्रिया दिनुहुन्छ । दोस्रोपटक एबोर्सन गर्न आउँदा पनि आफ्नो सन्तुष्टि जाहेर गर्नुहुन्छ ।’

उनको स्मरणमा अझै ताजा छ, अरू डाक्टरहरूले ‘टिपिकल केस’ हरू आफूलाई सुम्पिएको ।

‘गाह्रो-गाह्रो केसचाहिँ डा. बालकृष्णले गर्छन् भनेर राखिदिनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘मेरो ड्युटी सेडुअल बिहीबार थियो ।

त्यो दिन म थुप्रिएर रहेका सबै केस सल्टाउँथेँ ।’

गर्भपतनका विषयमा बहस चलाउने गरेका कारण पनि यस क्षेत्रमा सक्रिय र प्रभावकारी चिकित्सक हुन सफल भएको उनको तर्क छ ।

विभिन्न पत्रपत्रिकामा गर्भपतनसम्बन्धी सचेतनामुलक लेख लेख्छन्, उनी । त्यहाँबाट आउने पारिश्रमिकभन्दा पनि पाठकले दिने प्रतिक्रिया र सन्तुष्टिबाटउनमा प्रसन्नता छाउँछ ।

‘हुन त गर्भपतनले नेपालमा सन् २००२ मा कानुनी मान्यता पायो, त्यसको दुई वर्षपछि सेवा नै सुरु भयो,’ उनी भन्छन्, ‘तर, मैले गर्भपतनको तालिम लिँदाताका पनि मानिसहरूले यसबारे बुझिसकेका थिएनन्, गर्भपतनबारे विभिन्न भ्रमहरू थिए । त्यसलाई चिर्नका लागि मैले थुप्रै मिडियामा लेखहरू लेख्ने गरेको छु ।’

उनको भाषामा गर्भपतन

गर्भपतन सेवा सुरु भएको एक दशक पनि बितेको थिएन, मैले गर्भपतनको तालिम लिँदा ।

त्यसबेला मानिसहरूमा गर्भपतनबारे भ्रम अत्यधिक थियो, त्यो अहिले घट्दो भए पनि पूर्ण रूपमा ‘जिरो’ भइसकेको छैन ।

सुरक्षित गर्भपतनको बहस गर्दा पनि एबोर्सनलाई ‘प्रमोट’ गर्‍यो भन्दै आलोचना हुने गरेको छ ।

गर्भपतन गराउनेको सङ्ख्या बढेको र समाजमा विकृति बढेको भन्ने सोचले ग्रस्त व्यक्तिहरू समाजमा हावी छन् ।

गर्भपतन भन्नेबित्तिकै धेरैले डर, त्रास, घृणा, खतरा, लाज, पाप, हत्या, अपराध आदिसँग जोडेर हेर्छन् ।

अनिच्छित रूपमा बसेको गर्भलाई पतन गर्न खोज्दा विभिन्न लाञ्छना लगाइन्छ, चरित्रसँग जोडेर हेरिन्छ ।

जसकारण, गर्भवतीले आफ्ना समस्या लुकाउँछन्, गोप्य रूपमा असुरक्षित गर्भपतन सेवा रोज्छन्, दीर्घकालीन रोगको शिकार हुन्छन्, ज्यान गुमाउन सक्छन्, आत्महत्यासम्मको बाटो रोज्न सक्छन् ।

साथै, अनिच्छित गर्भको बाध्यतालाई सुरक्षित उपाय दिन नसक्दा उनीहरू शिक्षा, रोजगारी र सामाजिक अवसरहरूबाट बञ्चित हुन सक्छन् ।

सुरक्षित गर्भपतन गर्नु पाप होइन, बरु बुद्धिमानीको सूचक हो भन्ने कुरा बुझ्नु जरुरी छ ।

सामाजिक-सांस्कृतिक व्यवधानका कारण ढिलाइ हुँदा कानुनले तोकेको गर्भपतन गराउने समयावधि गुज्रिन्छ र उनीहरू लुकेर असुरक्षित गर्भपतन गराउने ठाउँमा पुग्छन् ।

असुरक्षित गर्भपतनले पाठेघरमा घाउ लाग्ने, फुट्ने तथा यौनाङ्गहरू नै बिग्रिने हुनसक्छ ।

यसले गर्दा तत्कालै महिलाको ज्यान जान सक्ने वा दीर्घकालीन रूपमा बाँझोपन हुन सक्ने सम्भावना रहन्छ ।

अमानवीय र असुरक्षित गर्भपतनको रोकथाम गर्न, जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको गर्भको समस्या निराकरण गर्न तथा महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न पनि सुरक्षित गर्भपतन आवश्यक छ ।

हामीले गर्भपतनको कुरा किन गर्न जरुरी छ भने असुरक्षित गर्भपतन अझै पनि कायमै छ ।

पहिलेपहिले असुरक्षित गर्भपतन गरेकै कारण ‘इन्फेक्सन’ बाट मातृमृत्यु हुन्थ्यो, अहिले औषधिभन्दा पनि ‘ब्लिडिङ’ कै कारण मृत्यु हुने गरेको छ ।

अवाञ्छित गर्भ लिएर जहाँ-जे पायो त्यही औषधि सेवन गर्छन् र अत्यधिक रक्तस्रावले शिथिल अवस्थामा स्वास्थ्यसंस्था आइपुग्छन् ।

अझ, कोही त अस्पताल पनि आइपुग्न पाउँदैनन्, घरमै ज्यान गुमाउँछन् ।

शिक्षित व्यक्ति सूचीकृत डाक्टरसमक्ष पुग्न झन्झट मान्छ, सरकारले निःशुल्क प्रदान गरेको औषधि खानेभन्दा पनि औषधि पसलमा जाने र सहजता खोज्न थाल्छ ।

औषधि पसलेले डाक्टरको ‘प्रेस्किप्सन’ खोजेमा पनि दबाब सिर्जना गर्ने परिपाटी हाबी छ ।

गर्भावस्था निर्क्यौल नगरी औषधि पसलेले औषधि दिँदा अत्यधिक रक्तस्राव भइ ‘क्रिटिकल’ अवस्थामा पुगेका गर्भवतीलाई पनि मैले ६-७ पाउन्ड रगत दिएर बचाएको छु ।

असुरक्षित गर्भपतनका कारण १५ देखि ३५ वर्षसम्मका महिलाको मृत्यु हुन्छ, जबकि त्यो उमेरसमूह भने परिवार, समाज र राज्यका लागि महत्त्वपूर्ण हो ।

नेपालमा अहिलेसम्म कानुनी मान्यताभित्र रहेर तालिमप्राप्त स्वास्थ्यकर्मी र सूचीकृत स्वास्थ्य संस्थामा गर्भपतन गराएका कसैको पनि मृत्यु भएको छैन ।

बरु, असुरक्षित गर्भपतनका कारण गर्भवतीको मृत्यु भइरहेको तथ्याङ्क छ ।

यसमा राज्य दोषी छैन ।

राज्यले त तीन हजारभन्दा बढी तालिमप्राप्त स्वास्थ्यकर्मीलाई ७७ वटै जिल्लामा खटाएर निःशुल्क रूपमा गर्भतपन सेवा दिइरहेको छ ।

अझ, ऐनमै राखदिँदा पनि सुरक्षित र सुलभ छोडेर मानिसहरू असुरक्षित र महँगो स्वास्थ्यसंस्थामा किन पुगिरहेका छन् ?

किन अहिले पनि ५२ प्रतिशतभन्दा बढी असुरक्षित गर्भपतन सेवा नेपालीले अङ्गालिरहेका छन् ?

अझ, यसपटक त सरकारले राष्ट्रिय जनगणना २०७९ का क्रममा अध्ययन गर्दा मातृमृत्यु पनि उल्लेख गरेको थियो ।

मलाई लाग्छ, जनगणनामा मातृमृत्यु समावेश गरेको दक्षिण एसियामै पहिलोपटक हो ।

जनगणनाका क्रममा नेपालमा २९ जनाको असुरक्षित गर्भपतनका कारण मृत्यु भएको पाइएको छ ।

गर्भपतनका विषयमा खुलेर कुरा नगर्नु, गर्भपतनका बारेमा राम्रो जानकारी कतै उपलब्ध नहुनु, गर्भपतन गर्दा समाजबाट बहिस्कृत भइन्छ भन्ने डरलगायत विषयले मानिसहरू लुकेर असुरक्षित ठाउँबाट गर्भपतन गराउँछन् ।

गर्भपतनका विषयमा नकारात्मक हल्ला चलाउनेहरू स्वास्थ्य क्षेत्रका केही बिचौलियाहरू हुन्, जसले सेवाग्राहीलाई खराब बाटो अर्थात् असुरक्षित गर्भपतनतिर डोहोर्‍याए ।

तथापि, यतातिर पनि सचेतना बढ्दो देखिएका कारण सकारात्मकता बढेको आँकलन गर्न सकिन्छ ।

सन् २०१६ को तथ्याङ्कले पनि ४१ प्रतिशत मानिसलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको भन्ने थाहा छ अनि ४५ प्रतिशत मानिसले मात्र यो कहाँ गरिन्छ भन्ने बुझ्नु भएको छ ।

बाँकी मानिसहरू फार्मेसी पुग्छन् र सिटामोलसरह औषधि सेवन गर्छन् ।

बरु, उनीहरूलाई राज्यले सम्झाउनुपर्छ कि गर्भपतनका औषधि सूचीकृत चिकित्सकको परामर्शबिना सिटामोलजस्तै नबेच्नू भनेर ।

किनकि, यसमा लापरबाही गरेमा मानिसको ज्यान पनि जान सक्छ ।

र, यस्ता भ्रमलाई चिर्नु भनेको स्वास्थ्य सचेतना नै हो ।

सचेतना फैलाउन नसक्नुमा राज्य दोषी छ, साथसाथै समाजका अरू अंगहरू पनि उत्तिकै दोषी छन् ।

गर्भपतनजस्तो महत्त्वपूर्ण र प्रभाव पार्ने विषयमा सरकार, नागरिक र गैरसरकारी संस्थाहरूले स्रोत परिचालान गर्न आवश्यक छ ।

हो, व्यक्ति वा दम्पत्तीले परिवार नियोजनका साधन प्रयोग गरेमा गर्भपतनको आवश्यकता पर्दैन ।

तर, परिवार नियोजनका साधनले गर्भ हुने सम्भावनालाई न्यून पारे पनि निर्मुल नै पार्न सक्छ भन्ने छैन ।

त्यसैले पनि सुरक्षित गर्भपतन सेवा जहाँ र जहिले पनि आवश्यक छ ।

सुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता हुने सम्भावना ज्यादै कम हुन्छ ।

यो हाम्रो देशको आवश्यकता हो, पश्चिमा देशहरूको प्रभावले गर्दा आएको होइन ।

गर्भपतनको सङ्ख्या वृद्धि भएको भन्ने जुन चर्चा छ, त्यो कदापि होइन ।

पहिला पनि गर्भपतन हुन्थ्यो तर त्यसको अभिलेख, लेखाजोखा हुन्थेन ।

जब गर्भपतनले कानुनी मान्यता पायो, त्यसपछि सम्बन्धित सङ्घ-संस्थाले अभिलेख राख्न थालेका कारण यसको सङ्ख्या बढेको देखिएको हो ।

प्रकाशित समय: शनिवार ७ पुस, २०८०, २०:०१:१५
नेपाल र सिरिया
सिरियामाथि नेपालको सहज जित
मङ्गलबार ८ फाल्गुण, २०८०
कप्तान सन्दीप र बसिरको अर्धशतकमा क्यानडाविरुद्ध नेपाल ‘ए’को रोमाञ्चक जित
मङ्गलबार ८ फाल्गुण, २०८०
मनकामना र नेपाल गुरुकुल स्कुल क्वार्टरफाइनलमा
मङ्गलबार ८ फाल्गुण, २०८०
‘डम्पिङ साइट’ हटाएर फुटसल, विराटनगरका शुभाशीषले गरे झन्डै डेढ करोड लगानी !
मङ्गलबार ८ फाल्गुण, २०८०
नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने
मङ्गलबार ८ फाल्गुण, २०८०
केएल दुगड उद्योगले तौल घटाएर चामल र चिउरा बिक्री गर्दै
मङ्गलबार ८ फाल्गुण, २०८०
ग्रामथानमा खेलकुद : दौडमा सञ्जु र सुबिना प्रथम बन्दा, हाजिरी जवाफमा सरस्वती मावि पहिलो
सोमबार ७ फाल्गुण, २०८०
पर्यटकीय क्षेत्र सन्दकपुरमा रेडपाण्डा पार्क सञ्चालन गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता
सोमबार ७ फाल्गुण, २०८०
प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित 
सोमबार ७ फाल्गुण, २०८०
यस्तो बन्यो दयाहाङ र आँचल अभिनित ‘डिग्री माइला’को टिजर (भिडिओसहित)
सोमबार ७ फाल्गुण, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
विराटनगरका दुई युवती, जो लागुऔषधसहित समातिए
मङ्गलबार १६ माघ, २०८०
इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते
बिहिबार १८ माघ, २०८०
भोजपुरका किसानले फलाए रङबिरङ काउली
आईतबार १४ माघ, २०८०
कानेपोखरीमा दुई भयानक दुर्घटना : एक जनाको मृत्यु, आमा-छोरा घाइते
आईतबार २१ माघ, २०८०
एक लाख धरौटीमा रिहा भए डा. तपेश्वरलाल कर्ण
बिहिबार ४ माघ, २०८०