पछिल्लो पुस्ता ‘भाइरल’ हुन रुचाउँछ । आफ्नो प्रतिभा लोकप्रिय भइहालेमा अनेकौँ सोक राख्छ ।
सहरमा बसेर गाडी, बङ्गला र गुणस्तरीय लाइफस्टाइल खोज्छ । तर नब्बेको दशकमा जन्मेको पोखरेली ब्यान्ड ‘नेपथ्य’का रकस्टार अमृत गुरुङ भने देखावटीमा रमाउने पछिल्लो पुस्तामाझ प्रेरणाका स्रोत बन्न सक्छन् ।
पोखरामा ५३ वर्षअघि जन्मिएका गुरुङ गुणस्तरीय जीवनशैली खोज्दैनन्, बरु गोठमा बस्न रुचाउँछन् । अहिले पनि उनी गाउँमै बस्छन्, सादा जीवन बिताउँछन् । हलो जोत्छन्, मकै गोड्छन्, घाँस–दाउरा गर्छन्, गाउँघर घुम्न रुचाउँछन् अनि गोठालो गर्दै केटाकेटी जम्मा पारेर उनीहरूसँग गफिन्छन् । उनको यो सादा जिन्दगी देखेर सबै छक्क पर्छन्, प्रशंसा गर्छन् । तर कमैले मात्र उनको अनुसरण गर्न सक्छ ।
उनलाई नजिकबाट चिन्नेहरूबाहेक अरूलाई अचम्म लाग्न सक्छ । किनकि, विश्वका ठुल्ठुला रकस्टार उभिएकै मञ्चमा आफूलाई प्रस्तुत गर्ने यी नेपाली ‘स्टार’ यो अनकन्टार गोठमा अति साधारण कृषकका रूपमा भेटिन्छन् ।
झुक्किएर गायक बनेका थिए अमृत
नेपथ्यका मुख्य गायक अमृत गुरुङ संगीत पारखीका मनमुटुमा नमेटिने गरी खोपिएर बसेका छन् । ‘छेक्योछेक्यो छेउराली डाँडाँ’, ‘जीवन हो घाम छाँया’, ‘रेशम’, ‘तालको पानी माछीले खाने’ लगायत एकपछि अर्का दर्शनौँ गीत दिएको नेपथ्यले युवापुस्तामा एकछत्र राज गरेको थियो र अहिले पनि गरिरहेकै छ ।
ती गीतमा आवाज दिएका गायक गुरुङ आफूलाई झुक्किएर गायक बनेको बताउँछन् । खासमा उनी गायक नभई चित्रकार बन्न चाहन्थे । गाउँमै लोकगीत सुनेर हुर्किएँका उनी गायक बनेका हुन् । उनी भन्छन्, ‘म सानोमा गीत गाउँथिन, पेन्टिङ गर्थेँ । चित्रकलामा रुचि थियो । स्कुलका नाटकमा भाग लिन्थेँ । गीत गाउने कुरामा साथी–भाइसँग सम्मिलित त हुन्थेँ तर आफैँ गाउन सक्दिनथेँ । रमाइलोका लागि खाली ठाउँ भर जस्तो थिएँ म । कसैबाट भएन भनेमात्रै उभिन्थेँ । लहैलहैमा जिस्किएर गीत गाउथेँ ।’
उनी भन्छन्, ‘मेरो जिन्दगीमा पहिलोपटक साथी वीर पुनले स्टेजमा लगे । उनी राम्रो ड्रमर थिए । गीत गाउनुपर्छ भनेर डाँफे कला मन्दिरमा पहिलोपटक गीत गाएको थिएँ । यसरी नै सुरु भएको थियो सङ्गीतमा मेरो यात्रा ।’
सादा जीन्दगीमै खुसी
चाहे हलो जोत्ने मामिलामा होस् वा भारी बोक्ने, अमृत खप्पिस छन् । महिनौँ गोठमा बस्छन् । अमृत अहिले पनि एउटा अनकन्टार पहाडी गोठमा छन् । उनको गोठ कास्की र स्याङ्जाको सीमावर्ती भेगमा पर्छ । यो गोठ अमृतले एक दशकयता सम्हाल्दै आएको दिवंगत हजुरआमाको नासो हो । पछिल्लो समय सङ्गीतबाट बचेको उनको सम्पूर्ण समय यही गोठमा बित्छ ।
यदाकदा साथीहरू पोखरा पुग्दा उनी यही गोठमा स्वागत गर्छन् र ढुङ्गा छापेको सिँढी उक्लँदा–उक्लँदै छेउको लहराबाट केही पात टिप्छन् । त्यसरी टिपिएको पात ढोगेर छेवैको विशाल ढुङ्गामा राख्दै भन्छन्, ‘यी यस गोठका भूमे देउता हुन् ।’
गायक गुरुङ कन्सर्ट हुँदा देश–विदेश भ्रमण गर्छन्, आफ्ना स्रोतालाई गीतमा झुमाउँछन् । कन्सर्ट नहुँदा फेरि पनि त्यै गोठमा हुन्छन् । अहिले कोरोना महामारीका कारण साङ्गीतिक कार्यक्रम भएका छैनन्, अन्य क्षेत्रझैँ सो क्षेत्र पनि रोकिएको छ । यस्तो बेलामा उनी गाउँमै बसेर सादा जिन्दगी व्यतित गरिरहेका छन् । र, यसमा आफू खुसी रहेको उनी बताउँछन् ।