विराटनगर । बलिउड अभिनेता अजय देवगन अभिनीत चर्चित क्राइम थ्रिलर फिल्म ‘दृश्यम’ को तेस्रो तथा अन्तिम शृंखला ओटीटी प्लेटफर्म नेटफ्लिक्समा आउने भएको छ। ‘दृश्यम : द कन्क्लुजन’ नोभेम्बर २७ देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुने भएको हो।
२ अक्टोबर २०२६ मा हलमा प्रदर्शनमा आएको फिल्म करिब दुई महिनापछि डिजिटल प्लेटफर्ममा उपलब्ध हुन लागेको हो। हलमा हेर्न छुटाएका दर्शकले अब घरमै बसेर फिल्म हेर्न पाउनेछन्।
अभिषेक पाठकको निर्देशनमा बनेको फिल्ममा अजय देवगनसँगै तब्बु, श्रिया सरन, जयदीप अहलावत र प्रकाश राजको अभिनय रहेको छ।
फिल्मको कथा विजय सालगाउँकर र उनको परिवारको वरिपरि केन्द्रित छ। अघिल्लो मुद्दामा सफाइ पाएको छ महिनापछि समीरको मृत्यु प्रकरण फेरि बल्झिन्छ। प्रहरी अधिकारी राजवीर सिंह तोमरले पुरानो घटनाको अनुसन्धान पुनः सुरु गरेपछि विजय र उनको परिवार फेरि संकटमा पर्छन्।
प्रहरीले पुरानो घटनासँग जोडिएका नयाँ प्रमाण र व्यक्तिहरूको खोजी गर्दा रहस्य थप गहिरिँदै जान्छ। परिवारलाई जोगाउन विजयले गर्ने संघर्ष, प्रहरी अनुसन्धान र पुराना घटनाको रहस्य नै फिल्मको मुख्य आकर्षण बनेको छ।