बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अभिनीत फिल्मको चर्चित गीतलाई ओस्कारको आधिकारिक सामाजिक सञ्जाल पेज ‘द एकेडेमी’ ले साझा गरेको छ। फिल्म ‘गोलियों की रासलीला राम–लीला’ को लोकप्रिय गीत ‘नगाडा संग ढोल’ पोस्ट भएपछि सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको छ।
निर्देशक सञ्जय लीला भन्सालीको उक्त फिल्मको गीतमा दीपिका र रणवीरको आकर्षक केमेस्ट्री देख्न सकिन्छ। विशेषगरी दीपिकाको गरबा नृत्य र परम्परागत पहिरनले दर्शकको ध्यान खिचेको थियो।
श्रेया घोषाल र उस्मान मीरको स्वर रहेको गीतसँगै एकेडेमीले ‘बलिउडका सपना यस्तै हुन्छन्’ भन्ने सन्देश पनि लेखेको छ। पोस्टमा फिल्मको नाम, निर्देशक र गीतसम्बन्धी विवरणसमेत समावेश गरिएको छ।
एकेडेमीको पोस्टपछि प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। कतिपयले दीपिकाप्रति एकेडेमीको विशेष रुचि रहेको भन्दै प्रशंसा गरेका छन् भने केहीले अभिनेत्रीका फिल्मसँग सम्बन्धित सामग्री बारम्बार साझा हुने गरेको टिप्पणी गरेका छन्।
एक प्रयोगकर्ताले दीपिकालाई एकेडेमीकी मनपर्ने बलिउड अभिनेत्री भन्दै प्रश्न गरेका छन्। अर्का प्रयोगकर्ताले दीपिकाका विशेष क्षण पोस्ट गर्नु एकेडेमीको बानी नै भइसकेको प्रतिक्रिया दिएका छन्।
यसअघि पनि ‘द एकेडेमी’ ले दीपिका पादुकोणका फिल्मसँग सम्बन्धित दृश्यहरू आफ्नो आधिकारिक पेजमा साझा गरिसकेको थियो। पछिल्लो पोस्टले बलिउड गीतको अन्तर्राष्ट्रिय लोकप्रियतालाई फेरि चर्चामा ल्याएको छ।