नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक कदम चालेको आरोप लगाएका छन्।
पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले तत्कालीन प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि नै संविधानविपरीत काम गरेको दाबी गरे।
उनले कार्कीले संसद् विघटनका लागि सिफारिस गरेको र राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई लोकतान्त्रिक र संवैधानिक प्रक्रियाविपरीत भएको टिप्पणी गरे।
संसद् विघटन गरेर लोकतन्त्र जोगाएको भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्दा लोकतन्त्र कसरी सुरक्षित हुन्छ भन्दै प्रतिप्रश्न गरे।
त्यस्तै, संसद् विघटनविरुद्ध आफ्नो पार्टीले सर्वोच्च अदालतमा रिट दायर गरे पनि त्यसमा अहिलेसम्म फैसला नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। मुद्दामा हारजित जे भए पनि अदालतले निर्णय सुनाउनुपर्ने उनको भनाइ थियो।