सप्तकोशी नदी। फाइल तस्बिर। विराटनगर- बिहीबारदेखि निरन्तर भारी वर्षा हुने पूर्वानुमानपछि कोशी प्रदेश सरकारले सम्भावित बाढी तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी तीव्र बनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएपछि प्रदेश सरकारका विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रलाई उच्च सतर्कतामा राखिएको हो।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ वटै जिल्लामा रहेका मातहतका कार्यालयलाई सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
भारी वर्षाका कारण हुन सक्ने प्राकृतिक विपत्तिका बेला तत्काल उद्धार तथा राहतका काम अघि बढाउन स्थानीय तह र अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको छ।
जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारमा निगरानी बढाउन, जनशक्ति, मेसिन तथा उपकरण तयारी अवस्थामा राख्न र विपद् आइपरे तत्काल परिचालन हुने गरी तयारी गर्न निर्देशन दिइएको छ।
जोखिमयुक्त बस्तीमा पूर्वसूचना पुर्याउने कामलाई सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा संयन्त्रले तीव्र बनाएका छन्। बाढीको चेतावनीपछि कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालय तथा जोखिममा रहेका स्थानीय तहले पनि सतर्कतासहित पूर्वतयारी थालेका छन्।