विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणको जिम्मेवारी कसले लिने भन्ने विषयमा संघ र कोसी प्रदेश सरकारबीच अन्योल देखिएको छ। निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि रंगशालाले पूर्णता पाउन सकेको छैन।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने योजनासहित आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए। उनले विराटनगरको बैजनाथपुर रंगशालासहितका संरचना संघीय सरकारले निर्माण गर्ने र तीन महिनाभित्र निर्माण प्रक्रिया अघि बढाउने बताएका छन्।
यता, कोसी प्रदेश सरकारले पनि तीन वर्षभित्र बैजनाथपुरमा सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने निर्णय गरिसकेको छ। प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले रंगशाला प्रदेश सरकारले नै बनाउने दाबी गरेकी छन्। उनका अनुसार रंगशाला प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउन संघीय सरकारसँग पहल गरिनेछ।
तर, संघ र प्रदेश दुवैले निर्माणको घोषणा गरिरहँदा रंगशालाको अवस्था भने दयनीय छ। नियमित मर्मतसम्भार र सरसफाइको अभावमा १४ बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको रंगशाला झाडीमा परिणत भएको छ। पछिल्लो चार वर्षदेखि त्यहाँ कुनै प्रतियोगिता सञ्चालन हुन सकेको छैन।
२०७१ सालदेखि चरणबद्ध रूपमा निर्माण सुरु गरिएको रंगशालामा करिब २५ हजार दर्शक अट्ने प्यारापिट, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, ड्रेसिङ रुम, मिडिया सेन्टर, फ्लडलाइट र अभ्यास मैदान बनाउने योजना थियो। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलसमेत यही मैदानमा सञ्चालन भएका थिए।
रंगशाला निर्माणका लागि सरकारले हरेक वर्ष बजेट विनियोजन गर्ने घोषणा गर्दै आए पनि अधिकांश काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मै सीमित भएको छ। यसअघि करिब दुई अर्ब ९६ करोड रुपैयाँ लागत अनुमानसहित डीपीआर तयार पारिएको थियो। चालु आर्थिक वर्षमा संघीय सरकारले छुट्याएको बजेट पनि डीपीआर निर्माणका लागि भएको मोरङ क्षेत्र नम्बर ४ का सांसद सन्तोष राजवंशीले बताएका छन्।
राजनीतिक खिचातानी र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय अभावका कारण रंगशाला लामो समयदेखि अलपत्र परेको हो। अहिले फेरि दुवै सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि वास्तविक निर्माण कहिले सुरु हुन्छ भन्ने अझै स्पष्ट भएको छैन।