सरकारले करिब ६ दशक पुरानो चलचित्र ऐन प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको विकास र विस्तारका लागि नयाँ कानुन ल्याउने तयारी गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार ‘चलचित्र विधेयक, २०८१’ अघि बढाइएको बताएका छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै उनले चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी उद्योगका रूपमा विकास गर्नुपर्ने बताए। कला, संस्कृति, भाषा, सिर्जनशीलता र आर्थिक विकासमा चलचित्र क्षेत्रको योगदान बढाउने गरी कानुन निर्माण गरिने उनको भनाइ छ।
मन्त्री तिमिल्सिनाले चलचित्रको सेन्सर र वर्गीकरणबीचको भिन्नता कानुनमै स्पष्ट पार्नुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी कुन विषयमा सेन्सर आवश्यक हुन्छ र कुनलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिन्छ भन्ने छुट्याउनुपर्ने उनले बताए।
त्यस्तै, चलचित्र विकास बोर्डको भूमिका, अधिकार, नेतृत्व र संस्थागत क्षमता स्पष्ट गर्दै आवश्यक स्वायत्तता प्रदान गर्नुपर्ने उनको धारणा छ। सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको दोहोरोपन नहुने गरी जिम्मेवारी निर्धारण गर्नुपर्ने पनि उनले बताए।
विधेयकमा चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित गर्ने, बक्स अफिस प्रणाली अनिवार्य बनाउने तथा चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षालाई सम्बोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजातिका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण र विदेशी लगानी आकर्षित गर्ने विषय पनि समेटिएका छन्।
यसैगरी, नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने र नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्य विधेयकले राखेको छ।
समिति सभापति डा. ओजस्वी शेरचनका अनुसार विधेयकका २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेका छन्। बैठकमा संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग छलफल गरिएको थियो।
सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्न यो विधेयक अघि बढाएको हो।