दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सोमबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले अदालतको म्याद नबुझेका कारण सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो।
रिटमा विपक्षी बनाइएका अन्य पक्षले म्याद बुझिसके पनि आईजीपी केसीले भने अझै बुझ्न बाँकी रहेको सर्वोच्च अदालतले जनाएको छ।
म्याद तामेल हुन बाँकी रहेको जानकारी पाएपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले महान्यायाधिवक्तालाई बोलाएर म्याद बुझ्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
आईजीपी केसीले म्याद बुझेपछि मात्रै रिटको सुनुवाइका लागि नयाँ मिति तोकिनेछ।
यसअघि मङ्सिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।