विराटनगर । सरकारले विपद् तथा आपत्कालीन अवस्थामा नागरिकलाई तत्काल जानकारी गराउने उद्देश्यले सेल ब्रोडकास्ट प्रणालीको परीक्षण गर्ने भएको छ।
परीक्षणका क्रममा काठमाडौंमा २जी नेटवर्क प्रयोग गर्ने मोबाइल प्रयोगकर्ताले आपत्कालीन सतर्कता सन्देश प्राप्त गर्न सक्नेछन्।
मोबाइलमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना आएमा नआत्तिन र कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको सरकारले जनाएको छ।
परीक्षण सन्देश प्राप्त हुँदा मोबाइलमा सामान्यभन्दा फरक चेतावनी ध्वनिसमेत बज्न सक्नेछ।
विपद् वा अन्य आपत्कालीन अवस्था उत्पन्न हुँदा नागरिकलाई छिटो र प्रभावकारी रूपमा सूचना पुर्याउने उद्देश्यले यो प्रणाली सञ्चालन गर्न लागिएको हो। सरकारले परीक्षणका क्रममा आउने सन्देशलाई वास्तविक आपत्कालीन सूचना नसम्झन आग्रह गरेको छ।