काठमाडौं, माघ १६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले फेरि कोही पनि सहिद बन्नु नपरोस् भन्ने कामना गरेका छन्।
शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले शहीदका सपना पूरा गर्ने दायित्व सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
उनले राणा शासनको अन्त्यका लागि संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन्। “त्यसको दस वर्षपछि राणा शासनको अन्त्य भयो, तर राज्य जनताको हुन सकेन,” उनले लेखेका छन्।
८५ वर्षको अवधिमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको उल्लेख गर्दै शाहले नेपाली जनता बारम्बार सहिद बन्नुपरेको तर शहीदका सपना अझै पूरा हुन नसकेको बताएका छन्।
उनले हालैको भदौ महिनामा भएको ‘जेन–जी आन्दोलन’ स्मरण गर्दै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले पनि जीवन बलिदान दिनुपरेको उल्लेख गरेका छन्।
“अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ,” शाहले भनेका छन्, “लामो समयदेखि जरा गाडेको भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नु र नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनु हाम्रो काँधमा आएको दायित्व हो।”
राज्यका निकायमा भएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन्।
“अब समय आएको छ—शहीदको रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने,” उनले भनेका छन्।
यसपटकको शहीद दिवस सम्पूर्ण ज्ञात–अज्ञात शहीदको स्मरण गर्दै सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध हुने अवसर भएको उल्लेख गर्दै उनले पुनः दोहोर्याए—
“फेरि कसैले सहिद बन्नु नपरोस्।”