विराटनगर । एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले बुधबार (आज) भुटानसँग खेल्दै छ ।
नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । यस खेलमा नेपाल भुटानविरुद्धको जितलाई कायमै पार्ने दाउमा हुने छ ।
समूह ए मा रहेको नेपालले बुधबार घरेलु टोली भुटानसँग खेल्दै छनोटको यात्रा सुरु गर्न लागेको हो ।
बिर्सना चौधरीको कप्तानीमा रहेको नेपाली टोली यामप्रसाद गुरुङको मुख्य प्रशिक्षणमा छ ।
ढाकामा जुलाई ११ देखि २१ सम्म भएको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
त्यस बेला नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो । त्यो दक्षिण एसियाली राष्ट्रहरुको प्रतियोगिता थियो ।
यस पटक भने नेपाली जुनियर महिला टोली यू२० महिला एसियन कपमा पुग्ने लक्ष्यसहित भुटान पुगेको हो ।
जहाँ नेपालले उमेर समूहमा एसियन कप र विश्वकप समेत जितिकसेको उत्तर कोरिया जस्तो बलियो टोलीसँग समेत खेल्नेछ ।
यस्तै नेपाल रहेको समूहमा घरेलु टोली भुटान र साउदी अरेबिया पनि छ ।
नेपाली यू-२० (त्यसबेला यू-१९) महिला फुटबल टिमले सन् २००४ मा एएफसी यू-२० महिला एसियन कप नै खेलेको थियो ।
त्यो समय छनोट प्रतियोगिता नभएकोले नेपालले सिधै खेल्ने अवसर पाएको थियो । त्यसपछि भने छनोट प्रतियोगित आयोजना हुन थाल्यो ।
साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुवै खेलमा सहजै पराजित गरेको थियो ।
साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-१ र ८-० ले पराजित गरेको थियो ।
यसैगरी गुरुङले समूहको तीनवटै टिमलाई सम्मान गरेर खेल्ने र आफूहरुले लक्ष्य यू२० महिला एसियन कपमा छनोट हुने रहेको बताए ।
नेपालले समूहको दोस्रो खेल अगष्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल अगष्ट १० मा उत्तर कोरियाको सामना गर्नेछ ।