बालिकाको हत्यापछि भावविह्वल भएका मृतकका बुबा मोरङको धनपालथान गाउँपालिका–५ की ७ वर्षीया आत्तिका सरदार आमा-बुबा नभएपछि आफ्नै काकासँग सुतेकी थिइन् । आत्तिकाका बाबु अक्षय भारत मनिहारी गएका थिए भने आमा मामाघर गएकी थिइन् ।
अरू बेला पनि काम परेर बाहिर जानु पर्दा अक्षय र उनकी पत्नीले सन्तान आमालाई छाडेर जाने गरेका थिए । त्यस दिन पनि बुवाआमाले जिम्मा लगाएपछि आत्तिका र उनका भाइ हजुरआमासँग बसे ।
राति आत्तिकाका काका अनिश मदिराले मातेर आए । भतिजी र भतिजलाई लिएर अनिश अलग्गै घरमा सुते । अर्को घरमा सुतेकी हजुरआमा बिहान उठेर नातिनातिना सुतेको घरमा आइन् ।
ओछ्यानमा हेर्दा नातिनी देखिनन् । हल्लाखल्ला भयो । त्यसपछि गाउँमा बच्च चोरी भएको हल्ला चल्यो । खोजी गर्दैजाँदा शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव फेला पर्यो ।
अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव भेटिएपछि हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा नाबालिकाका कान्छा काका अनिश सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक सोधपुछका क्रममा उनले घटना स्वीकार गरेनन् । अन्ततः प्रमाण संकलन गर्दै थप अनुसन्धान अघि बढाएको प्रहरीले नाबालिकाको हत्यामा आफ्नै काका अनिश संलग्न रहेको निष्कर्ष निकाल्यो ।
बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, प्रहरीले मेडिकल रिपोर्टलगायतका प्रमाण संकलनको काम गरेर गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ ।
प्रहरी अनुसार शवको प्रकृति हेर्दा मुख थुनेर वा घाँटी बटारेर हत्या गरेजस्तो देखिन्छ । भतिजीको शव फालेर आएपछि अनिष घरमै बसेका थिए । मानसिक रूपमा विक्षिप्तजस्तै रहेका अनिष आफूले अघिल्लो साँझ मदिरा सेवन गरेको स्वीकार गरेका छन् ।