विराटनगर। सिन्धुलीमा टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब साढे २ बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो फिक्कल गाउँपालिका–६ स्थित नागथानमा मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको हो।
सुमो सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचारका लागि पठाइएको छ।
दुर्घटनापछि बेपत्ता भएका तीन जनाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। दुर्घटना कसरी भयो भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।