विराटनगर। नेकपा एमालेका नेता गोकुल बास्कोटाले बडादसैँको शुभकामना दिने क्रममा राजनीतिक विषयलाई व्यंग्यात्मक शैलीमा उठाएका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकैपटक दसैँको शुभकामना दिएको उल्लेख गर्दै शुभकामना पनि किस्ताबन्दीमा दिनुपर्ने हो र भन्दै व्यंग्य गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बडादसैँको शुभकामना पनि के किस्ताबन्दीमा दिनु भनेर स्वदेश विदेशमा बस्ने जम्मै नेपालीलाई एकै डल्लोमा दिएँ है मैले त।’
बास्कोटाले आफ्नो अभिव्यक्तिमा जीबी राईको प्रसंगसमेत जोडेका छन्। उनले लेखेका छन्, ‘किस्ताबन्दीमा दिन त अरूमाथि बात नलाउने गरी जीबी राईलाई नै ल्याउने भएछन्।’
दसैँको शुभकामनासँगै उनले दिएको यो व्यंग्यात्मक अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाउने देखिन्छ।