विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा नाबालिकाको हत्या भएको छ । धनपालथान-५ बबियामा पाँच वर्षीया बालिकाको शव शनिबार बिहान फेला परेको हो ।
स्थानीय अक्षय सरदारकी छोरी ५ वर्षीया आत्तिका सरदारको शव फेला परेको हो । घरमा आमा-बुबा नभएको अवस्थामा काकासँग सुतेकी आत्तिका मृत फेला परेपछि प्रहरीले अनुसन्धानका लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका लागि शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले घटनाको अनुसन्धान तीब्र पारेको छ । पक्राउ पर्नेमा मृतकका काका अनिश सरदार रहेको छिमेकीले जनाएका छन् ।
बालिकाको शव विराटनगरस्थित कोशी अस्पतालमा पोष्टमार्टम भएको भए पनि रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको अनुहार घाँटीलगायत शरीरका विभिन्न भाग चोट छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिएको छ ।
तथापि, यो विषय पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि बालिकाको शव भने सदगदका लागि परिवारले लगिसकेका छन् ।