उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार, प्रेम सम्बन्धमा रहेका ती दुई जनाबिचको घटनाले हत्या र आत्महत्याको रूप लिएको हुन सक्ने प्रहरीको आशङ्का छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय करिब १४ वर्षीया मञ्जु राईको शव बुधवार बिहान सडक छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने करिब २८ वर्षीय रवीन्द्र राईको शव त्यही स्थानबाट २ सय मिटर पर रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईले घटनास्थलमा पुगेर दुवै शवको कानुनी प्रक्रिया पूरा गर्दै पोस्टमार्टमका लागि तयारी भइरहेको जानकारी दिए। ‘हालसम्म घटना कसरी भयो भन्ने यकिन खुल्न बाँकी छ,’ उनले भने।मृतक किशोरी मञ्जु सिंहदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् भने रवीन्द्र केही दिनअघि मात्र काठमाडौँबाट गाउँ फर्किएका थिए। उनीहरू एकै गाउँका छिमेकी भएको र विगतदेखि चिनजानमा रहेको प्रारम्भिक बुझाइ छ।घटनाको प्रकृति अनुसार सबैले त्यही अनुमान गरेका छन् । शव परीक्षणको लागि कानुनी प्रक्रिया भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मृतक दुवै जना छिमेकी हुन् ।