विराटनगर । विश्व क्रिकेटकै चर्चित खेलाडी हुन्, शिखर धवन । भारतीय राष्ट्रिय टोलीबाट तीनै फर्म्याटको क्रिकेट खेलिसकेका धवन उमेरले ३८ वर्ष पुगे ।
बायाँ हाते ओपनरले भारतसँगै आइपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पन्जाब किंंग्सबाट खेलिसकेका छन् ।
उनले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताएका थिए । उनले भारतलाई एसिसी एसिया कपको उपाधि पनि जिताएका छन् ।
धवनले भारतको लागि ३२ टेस्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । उनले एक सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् ।
यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।
उनै धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले अनुबन्ध गरेको छ । कर्णाली बिहीबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
अनुबन्धसम्बन्धी सम्झौतामा कर्णालीका मालिक झनक दत्त खनाल र धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।
सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक खनाल र धवनसँगै भारतका लागि कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह मालिक गृहेन्द्र घिमिरेको उपस्थिति रहेको थियो ।
धवनलाई टोलीमा अनुबन्ध गरेपछि मालिक खनालले नेपाली क्रिकेटकै लागि ठुलो उपलब्धि रहेको बताए ।
धवनले एनपिएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताए । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भनेका छन् ।
भारतका लागि कार्यवाहक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवर्द्धनको लागि सुखद् सन्देश रहेको बताए ।
नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले धवनलाई चौथो विदेशी खेलाडीको रूपमा टोलीमा अनुबन्ध गरेको हो ।
यसअघि कर्णालीले वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।
कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् ।
अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।