विराटनगर । विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ ।
भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई दिउँसो १२:४५ बजेतिर प्रहरीले फिर्ता पठाइएको हो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भारतीय नागरिकको समूहमा मिसिएर उनीहरू अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोज्दै थिए ।
प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेपछि भारततिर नै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।
यसअघि नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो ।