पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरीमा हालै भएको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, आपसी भाइचारा र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्।
शुक्रबार जारी सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले विविधताबीचको सहअस्तित्व नै नेपालको पहिचान भएको उल्लेख गरेका छन्। सुनसरीको घटनाले जनधनको क्षति हुनुका साथै कोशी क्षेत्र र तराईको जनजीवन प्रभावित भएको भन्दै उनले यस्ता अप्रिय घटना दोहोरिन नदिन सबै नेपालीलाई संयम, सहिष्णुता र मेलमिलापका साथ अघि बढ्न आह्वान गरेका छन्। अन्त्यमा उनले “जय नेपाल” भन्दै आफ्नो सन्देश टुंग्याएका छन्।