विराटनगर । कोशी प्रदेशका प्राविधिक शिक्षालयहरूबीच सीप प्रदर्शनी र प्रतिस्पर्धाको आयोजना हुँदै छ ।
“सीप उत्सव २०८२” नामक यस आयोजनामा विद्यार्थीहरूले आफ्ना सीप प्रदर्शन गर्नुका साथै क्यारियर परामर्श पाउने अवसर समेत रहनेछ ।
यस कार्यक्रमको आयोजकको रूपमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, उद्योग संगठन मोरङ, इन्सोर-हेल्वेटास रहेको छ ।
यस उत्सवमा हाल सात शिक्षालयका विद्यार्थीहरूले आन्तरिक प्रतिस्पर्धा गर्ने छन् भने विजेता-उपविजेताहरूले अन्तिम चरणको प्रतिस्पर्धा भने विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा हुनेछ ।
प्रतिस्पर्धाहरू २०८१ बैशाख २२ देखि ३० गतेसम्म विभिन्न शिक्षालयहरूमा आयोजना हुनेछन् ।
होटल व्यवस्थापन तर्फ प्रतिस्पर्धा भने नरबहादुर बहुप्राविधिक शिक्षालय, इटहरीमा सोमबार (आज) हुनेछ ।
यसैगरी, सूचना प्रविधि र अटो मोबाइल इन्जिनियरिङ मनमोहन स्मृति पोलिटेक्निक, बुढीगंगामा वैशाख २३ गते हुने छ भने सूचना प्रविधितर्फ शैलजा आचार्य पोलिटेक्निक, जहदामा २४ गते हुने छ ।
सूचना प्रविधितर्फ कन्काई पोलिटेक्निक, कन्काईमा २५ गते, सूचना प्रविधिमै वैशाख २६ मा पुष्प धिरेन्द्र प्रतिष्ठान, दमकमा, सूचना प्रविधिमै वैशाख २८ गते आदर्श माध्यमिक विद्यालय, विराटनगरमा र होटल व्यवस्थापनमा वैशाख ३० गते नरबहादुर कर्माचार्य स्मृति प्रतिस्ठान, बिर्तामोडमा हुने छ ।
विद्यालयस्तरीय प्रतिस्पर्धाबाट छानिएका दुई-दुई विजेता विद्यार्थीहरूले प्रदेशस्तरीय फाइनल प्रतिस्पर्धामा भाग लिनेछन् ।
सीप उत्सवमा विभिन्न क्षेत्रका विशेषज्ञहरूले प्रत्यक्ष तालिम प्रदान गर्नेछन् । कार्यक्रममा १००० भन्दा बढी युवाहरूले वृत्ति परामर्श, सीप अवलोकन तथा सीप अनुभव गर्ने अवसर पाउनेछन् ।
कार्यक्रममा आई.टी., इसिडिएफ र इलेक्ट्रिकल विषयमा प्रत्यक्ष तालिम, शिक्षालयस्तरीय सीप प्रतिस्पर्धाको फाइनल, वृत्ति परामर्श र सफलताको कथाहरू समेटिएका छन् ।
यस कार्यक्रमलाई सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, क्यान महासंघ मोरङ, हान र नाडाले सहयोग गर्दैछन् ।
विद्यार्थीहरूलाई प्राविधिक ज्ञान र सीप प्रदर्शन गर्ने अवसरका साथै करिअर निर्माणमा सहयोग पुग्ने यस कार्यक्रमले कोशी प्रदेशको प्राविधिक शिक्षामा नयाँ आयाम थप्ने विश्वास आयोजकको छ ।