महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका सदस्यहरूसँग भेटघाट गरेकी छन्।
भेटका क्रममा उनले राउटे समुदायका महिला तथा बालबालिकासँग संवाद गर्दै उनीहरूको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका समस्या तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी थिइन्। मन्त्री बादीले समुदायको जीवनस्तर सुधार र आवश्यक सेवा तथा अवसर विस्तारका विषयमा चासो व्यक्त गरिन्।
सो अवसरमा राउटे समुदायका सदस्यहरूले आफ्नै हातले निर्माण गरेका काठका तीनवटा परम्परागत भाँडा मन्त्री बादीलाई मायाको चिनोस्वरूप प्रदान गरेका थिए। समुदायको मौलिक कला र सीप झल्काउने सामग्री प्राप्त गरेपछि उनले यस्ता परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताइन्।
मन्त्री बादीले राउटे समुदायले बनाउने काठका भाँडाकुँडा र महिलाहरूले तयार गर्ने माला लगायतका हस्तकलाका सामग्रीलाई बजारसम्म पुर्याउन सके आम्दानी बढाउन सहयोग पुग्ने बताइन्। उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
उनले राउटे बालबालिकाको शिक्षालाई प्राथमिकतामा राख्दै उनीहरूको पढाइ निरन्तर सञ्चालन गर्न आवश्यक वातावरण र सहयोग उपलब्ध गराउनुपर्ने धारणा राखिन्। समुदायको मौलिक संस्कृति र पहिचानलाई जोगाउँदै बालबालिकालाई शिक्षा, स्वास्थ्य र संरक्षणको अवसर दिनुपर्ने उनको भनाइ थियो।
भ्रमणका क्रममा मन्त्री बादीले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा राउटे बालबालिकाका लागि सञ्चालित घुम्ती सिकाइ केन्द्रको अवलोकनसमेत गरिन्। उनले त्यहाँ भइरहेको पठनपाठन, बालबालिकाको सिकाइ अवस्था र शैक्षिक गतिविधिबारे जानकारी लिएकी थिइन्।