नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसको औचित्य माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आईजीपीको कार्यकाल अझै १७ महिना बाँकी रहेको अवस्थामा उनलाई हटाउनुपर्ने कारणबारे सरकारसँग प्रश्न गरेका हुन् । अहिले देशको आवश्यकता प्रहरी प्रमुख परिवर्तन गर्नु हो वा नागरिकका समस्या समाधान गर्नु हो भन्ने उनको प्रश्न छ ।
आङदेम्बेले भोटेकोशी र बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकको अवस्था, विस्थापित सुकुम्बासीको समस्या र बढ्दो महँगीलाई उल्लेख गर्दै मुलुक विभिन्न संकटबाट गुज्रिरहेको बताएका छन् । यस्तो अवस्थामा सरकारले जनताका समस्याभन्दा प्रहरी नेतृत्व परिवर्तनलाई प्राथमिकता दिएको उनको आरोप छ ।
उनले आईजीपीलाई हटाउने निर्णय कुन तथ्य र प्रमाणका आधारमा गरिएको हो भन्ने स्पष्ट पार्न पनि माग गरेका छन् । सरकारका प्रवक्ताले पार्टीको निर्देशनमा हटाइएको बताएको तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताले पार्टीको निर्देशन नरहेको दाबी गरेको उल्लेख गर्दै आङ्देम्बेले सरकार कसको निर्देशनमा सञ्चालन भइरहेको छ भन्ने प्रश्न गरेका छन् ।
अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि उनले गम्भीर रूपमा उठाएका छन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मोबाइल त्यहाँ कसरी पुग्यो र त्यसमा रहेका कुन विवरण मेटाउन खोजिएको थियो भन्नेबारे उनले जवाफ मागेका छन् ।
वर्तमान सरकारलाई जनताले सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकको जीवनस्तर सुधार गर्ने अपेक्षासहित मत दिएको आङ्देम्बेको भनाइ छ । सत्ता र शक्तिको दुरुपयोग गर्न वा प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न जनताले समर्थन नगरेको उनले बताएका छन् ।
आईजीपी हटाउने निर्णयलाई उनले सुशासनको अभ्यास नभई शक्ति प्रदर्शनको संज्ञा दिएका छन् ।