अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टले अदालतमा बयान फेर्दै ममताको शव व्यवस्थापन गरेको स्वीकार गरेका छन्।
यसअघि ममता स्वेच्छाले घर छाडेर न्युयोर्क वा टेक्सस गएको दाबी गर्दै आएका भट्टले अदालतमा भने ममता आफ्नै बेडरुममा मृत अवस्थामा फेला परेको र त्यसपछि आफूले शव व्यवस्थापन गरेको बताएका हुन्। तर, ममताको शव अहिलेसम्म फेला परेको छैन।
अदालतमा प्रस्तुत विवरणअनुसार भट्टमाथि पहिलो डिग्रीको हत्या, शव क्षतविक्षत बनाएको र शव लुकाएको अभियोग लागेको छ।
‘बेडरुममा मृत अवस्थामा भेटेँ’
अदालतमा आफ्नो पक्ष राख्दै भट्टले जुलाई २९, २०२४ को राति आफू बच्चासँग अर्को कोठामा सुतेको बताएका छन्। जुलाई ३० को बिहान करिब ४ बजे बच्चाको हेरचाहका लागि उठेर मुख्य बेडरुममा जाँदा ममता भुइँमा उत्तानो परेको अवस्थामा भेटिएको उनको दाबी छ।
उनका अनुसार ममताको शरीर र वरिपरि वान्ता थियो। त्यहाँ केही चक्की, औषधिको बोतल र कीटनाशक औषधिका खुला प्याकेटसमेत थिए। ममतालाई बचाउन आफूले ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरे पनि सफल नभएको उनले बताए।
अदालतमा न्यायाधीश र वकिलहरूले प्रहरी वा अस्पतालमा किन खबर नगरेको भन्दै प्रश्न गरेका थिए। जवाफमा भट्टले आफू अत्यधिक डराएको बताएका छन्।
‘मलाई साँच्चै डर लाग्यो। किन फोन गरिनँ, मलाई थाहा छैन। मलाई लाग्यो कि ममाथि आत्महत्या दुरुत्साहनको आरोप लाग्न सक्छ,’ उनले अदालतमा भनेका थिए।
आफूले लामो समय ध्यान गरेको भए पनि त्यस्तो अवस्थामा ९११ मा फोन गर्न नसकेको विषयमा आफूसँग जवाफ नभएको उनले बताएका छन्।
आराले शव टुक्राटुक्रा पारेको स्वीकार
भट्टले बच्चालाई बेबीसिटरकहाँ पुर्याएपछि होम डिपोटबाट केही सामग्री खरिद गरेको र त्यसपछि घरमै आराको प्रयोग गरी ममताको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। उनका अनुसार शवका टुक्राहरू ब्यागमा राखेर घरकै फोहोर फाल्ने कन्टेनरमा राखिएको थियो।
सरकारी वकिल म्याथ्यु स्विटले यसअघि प्रहरी र सञ्चारमाध्यमलाई दिएको बयानबारे प्रश्न गर्दा भट्टले आफूले झूटो बोलेको स्वीकार गरेका थिए।
फरेन्सिक प्रमाणले पनि भट्टलाई चुनौती
अभियोजन पक्षले अदालतमा पेस गरेका फरेन्सिक प्रमाणले भट्टको बयानमाथि प्रश्न उठाएका छन्। मुख्य बेडरुमको कार्पेटमा भेटिएको रगत ममताकै भएको सम्भावना अत्यधिक रहेको विशेषज्ञहरूको निष्कर्ष छ। बेडको स्थान सारेर रगतका दाग मेटाउने प्रयास गरिएको प्रमाणसमेत प्रस्तुत गरिएको छ।
प्रहरीले बरामद गरेको विद्युतीय आरामा भेटिएको रगत र डीएनए परीक्षणबाट ममताकै भएको पुष्टि भएको अभियोजन पक्षले जनाएको छ। उक्त आरा भट्टले घटनाको केही महिनाअघि खरिद गरेका थिए।
ममताका भाइ महेश काफ्लेले पनि अदालतमा भावुक हुँदै बयान दिएका छन्। उनका अनुसार घटनाको केही महिनाअघि ममताले आँखामा नीलडाम भएको तस्बिर पठाएर नरेशले कुटपिट गरेको जानकारी गराएकी थिइन्। उनले उक्त तस्बिर प्रमाणका रूपमा सुरक्षित राख्नसमेत आग्रह गरेकी थिइन्।
ममता बेपत्ता हुनुभन्दा सात–आठ महिनाअघिदेखि नै नरेशले सम्बन्धविच्छेदको कुरा गर्ने गरेको र घटनापछि ममताका गरगहनासहित आफ्नो विवाहको औँठीसमेत एक साथीलाई जिम्मा लगाएको विवरण अदालतमा प्रस्तुत भएको छ।
भट्टको बयानका क्रममा अदालतमा उपस्थित केही व्यक्तिले आक्रोश व्यक्त गरेका थिए। ममताकी आमा रुँदै अदालत कक्षबाट बाहिरिएकी थिइन्।
घटनासम्बन्धी कानुनी प्रक्रिया र ज्युरीसमक्ष बहस जारी रहेको छ। ममताको न्यायका लागि आवाज उठाउँदै आएका परिवार तथा साथीहरूले भट्टको बयानमाथि प्रश्न उठाउँदै आएका छन्।