विराटनगर । १०औँ संस्करणको धर्मश्री शारीरिक सुगठन उपाधि गोर्खाली फिटनेसका उमेश राईलेले जितेका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार राति सम्पन्न प्रतियोगिताको ओभरअलतर्फ उमेश च्याम्पियन बनेका हुन् ।
साविक विजेतासमेत रहेका उमेशले फाइनलमा ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पारे ।
उपाधिसँगै उमेशले १२ लाख रुपैयाँ पुरस्कार र ११ किलोग्रामको ट्रफी पुरस्कार पाए । साथै उनले चीन भ्रमणको मौका पनि पाए ।
उमेशले ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभरअल राउन्डमा स्थान बनाएका थिए ।
धर्मश्रीमा दुई पटक उपाधि जित्ने उमेश तेस्रो खेलाडी समेत बने ।
यसअघि नरेश महर्जन र सानु गुरुङ्गले पनि दुई/दुई पटक उपाधि जितेका थिए।
उपविजेता ललितले ६ लाख रुपैयाँ पुरस्कार पाए भने दाङका माधव सुवेदीले तेस्रो बन्दै तीन लाख रुपैयाँ पाए ।