केशवराज आमोदी
‘आजको दुनियाँ धनमा केन्द्रित हुँदै गएको छ । जप तप र प्राप्ति धन नै भएको छ । धन पाए जस्तोसुकै जघन्य अपराध गर्ने भएको छ । त्यसैले धन मिल्छ भनेदेखि बाबु -आमा , दाजु-भाइ , दिदी-बहिनी र लोग्ने-स्वास्नीजस्ता मानवजीवनमा अप्राप्य नसनातालाई तिलाञ्जलि दिने भइसकेको छ ।’ भनेर प्रोफेसर द्रव्यलिप्सुले भन्न नपाउँदै प्रोफेसर सजलराज ‘सत्तामोही’ले थप्यो-
-‘धन देखेपछि महादेवका तिन नेत्र जल्छन् ‘ त्यसे भनिएको होइन नि प्यारे !’
धनबिनाको सहरको सफर र छाप्रोबिना जीवनको कहरको अनुभूतिले नै ‘छन गेडी सबै मेरी छैनन् गडी सबै टेढी ।’ भनिएको न हो , होइन दिलवर ?’
प्रोफेसर यज्ञराजले पुष्टि गर्दै भन्यो-
‘टका धर्म टका कर्म टकैव परमं सुखम् ।
यस्य गेहे टका नास्ति हाटके टक्टकायते ।’
पुन: अर्थ लाउँदै भन्यो- टका यानि कि ‘पैसा’ नै धर्म , पैसा नै कर्म , पैसा नै परम सुख हो र जोसँग पैसा हुन्न त्यो बजारमा पुग्दा पनि खल्ती टकटकाइरहन्छ,’ भनेर गफ चलिरहेको वेलामा बिहानीको जाडोमा थरथर कामिरहेको भिखारीलाई देखी प्रोफेसर दयारामले तुरुन्तभित्र गएर पाँच सय रुपैयाँ हातमा थमाउँदै पुरानो कोट उसलाई लगाइदियो । खुसीले छचल्किंदै यो पैसाले म राजधानी पुग्छु , हजुरको जय होस् भन्दै भिखारी अत्यन्त खुसी हुँदै त्यहाँबाट ओझेल भयो ।
•••
पन्ध्र दिनपछि प्रोफेसर दयारामलाई खोज्दै त्यही भिखारी आँगनमा उभियो । खल्तीबाट आज पनि रु. पाँचसय निकालेर दिन खोज्दै थियो । त्यसैवेला भिखारीले भन्यो हजुरले दिनुभएको कोटमा त यो साततोलाले बनेको लकेट रहेछ । म त्यही फिर्ता गर्न आएको हुँ । ल लिस्स्सिएयोस् भनेर अगाडि राखिदियो ।
‘कसरी थाहा भयो साततोलाको हो भनेर ?’
उसले भन्यो- ‘ नक्कली भए किन दुख बेसाउनु ? यतै फालिदिन्छु भनेर जचाउन जाँदा थाहा पाएको हुँ ।’
झल्यास्स उसले कोटको भित्री खल्तीको लकेट सम्झियो ।
आफूले बिर्सिएको माल घरमा फिर्ता ल्याइदिने भिखारीलाई एकसेट कपडासहित हिजो किनेर ल्याएको ज्याकेट लगाइदियो । ऊ मालिकको जय होस् ! कल्याण होस् भन्दै एकातिर अल्पियो ।
रत्ननगर नगरपालिका चितवन